स्थानीय तहको निर्वाचनका लागि २१,९५५ मतदान केन्द्र
प्रकाशित मिति : 28 March, 2022 12:43 pm

काठमाडौं । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २१,९५५ मतदान केन्द्र हुने भएका छन् ।
निर्वाचन आयोगले देशभर १०,७५६ मतदान स्थल र २१,९५५ मतदान केन्द्र हुने जनाएको हो । जस अन्तर्गत सबैभन्दा धेरै मतदान स्थल मधेश प्रदेशमा २१६३ रहने छन् भने मतदान केन्द्र ४१८९ हुने छन् ।
सबैभन्दा कम मतदान स्थल कर्णाली प्रदेशमा ९०७ र मतदान केन्द्र १,३८५ हुने छन् । प्रदेश १ मा मतदान स्थल १,८७७ र मतदान केन्द्र ४,०५१ रहने छन् भने बागमती प्रदेशमा मतदान स्थलको संख्या १,७९२ र मतदान केन्द्र संख्या ४,०९५ रहने छ ।
गण्डकी प्रदेशमा मतदान स्थल संख्या १,२५३ र मतदान केन्द्र २,३००, लुम्बिनी प्रदेशमा मतदान स्थल १,६२९ र मतदान केन्द्र ३,८३२ तथा सुदूरपश्चिम प्रदेशमा मतदान स्थल १,१३५ र मतदान केन्द्र २,१०३ रहने निर्वाचन आयोगले जनाएको छ ।