रुपन्देहीमा ओलीले गरे १० तले भ्यू टावरको उद्घाटन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुपन्देहीमा बहुउद्देश्यीय भ्यूटावरको उद्घाटन गरेका छन् ।
मंगलबार ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा निर्माण भएको बहुउद्देश्यीय टावरको उद्घाटन गरेका हुन् ।
२०७२ सालको भूकम्पमा ढलेको काठमाडौंको धरहरापछिको अग्लो र सुविधासम्पन्न भनिएको टावरको भुइँतला ३५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ ।
करिब १४ करोड रुपैयाँ लागतमा बनेको भ्यूटावरका लागि शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको ३० प्रतिशत र तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत लागत साझेदारीमा तयार भएको हो ।
तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहारको संयुक्त लगानीमा निर्माण भएको टावर आर्थिक वर्ष २०७३÷७४ मा ठेक्का सम्झौता भएको थियो । १० तले टावर एक सय ३४ फिट उचाइको छ ।
कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको टावरको पहिलोदेखि छैटौं तलासम्म व्यावसायिक प्रयोजनमा प्रयोग हुनेछ भने बाँकी तलाबाट दृश्यावलोकन हुनेछ ।