गल्याङ नगरपालिकामा मासुमा पनि उत्पादनका आधारमा अनुदानको व्यवस्था
स्याङ्जा । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले मासुमा पनि उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्न लागिएको बताएका छन् ।
उनले मासुमा उत्पादनका आधारमा अनुदान दिन कार्यविधि बनाउन लागिएको जानकारी दिए । नेपाल व्यवसायिक बाख्रापालक महासंघ, स्याङ्जाको दोश्रो जिल्ला अधिबेशनको उद्घाटन कार्यक्रममा उनले किलो विक्रीको आधारमा मासुमा अनुदानको व्यवस्था गर्न लागिएको स्पष्ट पारे ।
नगरप्रमुख अधिकारीले भने ,दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान दिए जस्तै मासुमा पनि निश्चित रकम तोकेर प्रतिकिलोमा अनुदान दिने गरी कार्यविधि बनाउँदैछौं ।
उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्दा दुःख गर्ने किसानसामु अनुदान पुग्ने भन्दै उनले कागजपत्र मिलाएर अनुदान लिने तथा आफ्नालाई मात्रै अनुदान दिने अवस्थाको अन्त्य चाहेको बताए ।
नेपाल व्यवसायिक बाख्रापालक महासंघको स्याङ्जा अधिबेशन गल्याङमा भएकोमा आफु हर्सित भएको भन्दै उहाँले किसानका लागि गर्नुपर्ने कामका लागि आवश्यक सुझाब दिन महासंघसँग आग्रह गरे ।
कार्यक्रममा नेपाल व्यवसायिक बाख्रापालक महासंघका केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेलले बाख्रापालन गर्ने क्रममा नै किसानहरुलाई अनुदान दिनुपर्ने बताए ।