ग्रीन भेन्चर्सको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले बिहान ८ः३० बजे ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम नयाँबानेश्वरस्थित क्यापिटलको कार्यालयमा राखिएको थियो ।
मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । २१ लाख ५७ हजार ६ सय ३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका थिए । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी २ लाख ८७ हजार ५०० जनाले समान १० कित्ता सेयर प्राप्त गरेका छन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो ।
जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
कसरी हेर्ने रिजल्ट ?
आईपीओ बाँडफाँडको काम विहानै सम्पन्न भईसकेको र अहिले डाटा अपलोड पनि भइसकेको हुनाले सहजै नतिजा हेर्न सकिने लक्ष्मी क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओको नजिता ५ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडको वेभसाइट ,ग्रीन भेन्चर्स लिमिटेडको वेभसाइट, मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर हेर्न सकिन्छ ।