३ आश्विन २०८१, बिहिबार

सामुदायिक वनमा फलफूल खेती

प्रकाशित मिति :  10 April, 2022 9:43 am


बागलुङ । हरेक नागरिकलाई उत्पादनसँग जोड्ने भन्दै बागलुङको एक वडाले सामुदायिक वनमा फलफूल खेती थालेको छ । काठेखोला गाउँपालिका–७ रेशले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँग मिलेर फलफूल खेती थालेको हो ।

बहुवर्षे उत्पादन दिने फलफूलका बिरुवा सामुदायिक वनमा लगाइएको वडाध्यक्ष प्रेम लामिछानेले बताए । काम नलाग्ने रुखमात्रै हुर्काएर सामुदायिक वनबाट किसानले फाइदा लिन नसक्ने जनाउँदै वडाले वनमा उत्पादन गर्न सकिने फलफूलका बिरुवा लगाउन सुरु गरेको हो । पहिलो चरणमा वडामा रहेका दुईवटा सामुदायिक वनमा फलफूल लगाइएको छ ।

जापानिज नास्पाती, एभोगाडो, प्लम, टिमुरलगायतका फलफूल र औषधिजन्य जडीबुटीका बिरुवा वनमा लगाइएको लामिछानेले बताए। साङ्खोला सामुदायिक वन उपभोक्ता समितिको सहकार्यमा दुई हजार ५०० बिरुवा लगाइएको उनले बताए । डिभिजन वन कार्यालय बागलुङ, कृषि ज्ञान केन्द्रलगायतका संस्थाले वडाको अभियानमा बिरुवा सहयोग गरेका थिए । रेशकै मौवाघारी सामुदायिक वनमा पनि परीक्षणका रूपमा फलफूलका बिरुवा लगाउन थालिएको उनले जानकारी दिए।

वनमा फलफूलका बिरुवा लगाउँदा सामुदायिक वन उपभोक्ता समूहको आम्दानी बढ्ने र बाँदर नियन्त्रणमा समेत सहयोग पुग्ने वडाको विश्वास छ । “चिलौने, उत्तिस, अँगेरीलगायतका बिरुवाको वनले मात्रै उपभोक्तालाई फाइदा दिन सक्दैन”,वडाध्यक्ष लामिछानेले भने, “वनको खाली जग्गामा लगाइएको फलफूलले बहुवर्षे उत्पादन दिँदा समूहमा रहेका सबैलाई फाइदा हुन्छ ।”

बाँदरले खान मिल्ने फलफूल वनमै हुँदा घर गाउँमा डुल्ने बाँदर वनमा रोकिने र खेतीपाती जोगिने वडाको विश्वास छ । टिमुरलगायतका औषधिजन्य जडीबुटीबाट सामुदायिक वनले आयआर्जन गर्न सक्ने स्थानीय रामचन्द्र शर्माले बताए । “फलफूलकै वन बनाउँदा केही बिग्रिने होइन, भएका रुख नमास्ने र खाली जमिनमा फलफूल लगाउने गरिएको छ”, उनले भने, “बाँझो जमिनमा पनि उत्पादनसँग जोडिने खेती गर्न थालिएको छ ।”

रेशमा नौ वटा सामुदायिक वन छन् । सबै सामुदायिक वनमा क्रमशः फलफूल खेती विस्तार गर्ने योजना रहेको लामिछानेले बताए। अघिल्लो आर्थिक वर्षमा रु पाँच लाख खर्चेर फलफूल तथा जडीबुटीका बिरुवा लगाएको वडाले ती बिरुवाको संरक्षण र गोडमेलको जिम्मेवारी सामुदायिक वनलाई नै दिएको छ ।

पशुपालन र खेतीपाती धेरै हुने रेशका सामुदायिक वनमा हुने घाँसले किसानलाई सहयोग गर्ने गरेको छ । फलफूल तथा जडीबुटी उत्पादन सुरु हुँदा किसान उपभोक्तालाई आर्थिकरूपमा थप सहयोग पुग्ने वडाध्यक्ष लामिछानेले बताए । रासस



प्रतिक्रिया दिनुहोस !