१० मंसिर २०८१, सोमबार

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस नेपाल आइपुगे

प्रकाशित मिति :  21 April, 2022 3:18 pm


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज काठमाडौं आइपुगेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा उनी बिहीबार काठमाडौं आइपुगेका हुन् ।

गेब्रेयससको स्वागतका लागि त्रिभुवन अन्तर्रष्टिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललगायतका अधिकारीहरु पुगेका थिए।

महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा। पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरू समेत रहने छन् ।

तीनदिने भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।

नेपालमा रहँदा उनले सरकारका उच्च अधिकारी, डब्ल्यूएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग छलफल गर्ने छन् ।

भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अवलोकन गर्ने स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेलले बताए । वैशाख १० गते गेब्रेयससको टोली नेपालबाट फर्कने कार्यक्रम तय गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !