उम्मेदवार मनोनयन दर्ताको आज अन्तिम दिन
काठमाडौं । स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयनको आज दोस्रो र अन्तिम रहेको छ। निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ताका लागि समय दिएको थियो।
देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा आइतबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सोमबार बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न सकिने कार्यतालिका बनाएको छ ।
उम्मेदवार मनोनयनको पहिलो दिन आइतबार प्रमुख राजनीतिक दलका तर्फबाट भने मनोनयन दर्ता नै नभएको आयोगले जनाएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सबै जसो क्षेत्रमा उम्मेदवारको टुंगो लगाए पनि गठबन्धनमा आबद्ध दलबीच अझै भागबण्डामा कुरा मिलेको छैन ।
आयोगका अनुसार आइतबार विभिन्न पदमा गरी देशभर कूल १० हजार पाँच सय ३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।