पाल्पामा गठबन्धनले दियो घरदैलो कार्यक्रमलाई तीव्रता
पाल्पा । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि पाल्पामा काँग्रेस सहितको गठबन्धनले घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ । गठबन्धनले आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन मतदाताहरुको घर–घरमा पुग्ने कार्यलाई तीव्रता दिएका हुन् ।
जिल्लाका दश वटै स्थानीय तहमा नेपाली काँग्रस सहितको गठबन्धनका उम्मेदवारहरुले विगतको चुनावी समिक्षा गर्दैै मतदाताहरुसमक्ष मत मागेका छन् । उनीहरुले आफुले गर्न सकेका र नसकेका कुराहरु जनता समक्ष प्रष्ट राख्दै आगामी योजना र कार्यक्रमका विषयमा समेत जानकारी गराएका छन् ।
गठबन्धनले तानसेनमा समेत तालिका नै बनाएर घरदैलो कार्यक्रम अगाडि बढाएको छ । १४ वटा वडा रहेको तानसेनमा गठबन्धनले १३ गतेदेखि प्रचार–प्रसार कार्यालयको उद्घाटन गरी घरदैलो अभियानलाई तिव्रता दिएको छ। नेपाली काँग्रेस तानसेन नगरसमितिका अध्यक्ष सुवर्ण मुनि शाक्यका अनुसार गठबन्धले वैशाख १३ गतेबाट वैशाख २६ गतेसम्म पालिकामा रहेका १४ वटा वडामा घरदैलो गर्ने कार्यक्रम रहेको र आफूहरुले गर्न सकेका र नसकेका कुराहरु जनता सामु प्रष्ट पारेको बताए ।
तानसेनमा गठबन्धनबाट नगर प्रमुखको लागि नेपाली काँग्रेसका उम्मेदवार सन्तोष लाल श्रेष्ठ, उपमेयरमा माओवादी केन्द्रकी प्रतिक्षा सिङ्जालीले उम्मेदवारी दिएका छन् । यस्तै जिल्लाको माथागढी गाउँपालिका र रामपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरु घरदैलोमा पुगेका छन् । तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिका, पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिकार रामपुर नगरपालिका र रम्भा गाउँपालिकामा पनि गठबन्धनका उम्मेदवारहरुले घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।