५ आश्विन २०८१, शनिबार

अनाथलय र वृद्धाआश्रममा दूधजन्य पदार्थ वितरण गरी स्थापना दिवस मनाउदै दुग्ध विकास बोर्ड

प्रकाशित मिति :  29 April, 2022 12:03 am


काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले अनाथलय र वृद्धाआश्रममा दूधजन्य पदार्थ वितरण गरी स्थापना दिवस मनाउने भएको छ । बोर्डको ३१ औं स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कुशुन्ती र धापाखेलमा रहेको नेपाल स्नेही काख अनाथलय एंव वृद्धाआश्रममा दूध तथा दुग्धपदार्थ वितरण गरी स्थापना दिवस मनाउने जानकारी दिइएको हो ।

बोर्डले स्थापना दिवस तीन फरक कार्य गरि मनाउन लागेको हो । पहिलो दिन बोर्डले रक्तदान कार्यक्रम गरेको छ भने दोस्रो दिन १६ गते नेपाल स्नेही काख अनाथालय एवं वृद्धाश्रम–कुशुन्ती र धापाखेलमा दूध तथा दुग्धपदार्थ वितरण गर्ने जनाएको छ। त्यसैगरी बोर्डले स्थापनाको दिन अर्थात १७ गते सभागोष्ठी तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

दुग्ध व्यवसाय सम्बन्धी नीति निर्माण तथा तत् सम्बन्धी विकास योजना तर्जुमा गर्ने निकायको रुपमा राष्ट्रिय दुग्ध विकास बोर्ड ऐन, २०४८ द्वारा अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्थाको रुपमा २०४९ साल वैशाख १७ गते स्थापना भएको हो । बोर्ड वैशाख १७ गते २०७९ मा ३० वर्ष पूरा गरी ३१ औ वर्षमा प्रवेश गर्दै छ ।

बोर्डले राष्ट्रिय स्तरमा दुग्ध व्यवसाय सम्बन्धी नीति निर्माण र तत्सम्बन्धी विकास योजना तर्जुमाको लागि नेपाल सरकारलाई आवश्यक सहयोग पुर्‍याउने, दुग्ध उद्योगको विकास गर्ने लक्ष्य राखेको छ । बोर्डले दुग्ध क्षेत्रको विकास तथा प्रवर्द्धन गर्नको लागि नेपाल सरकारलाई उपयुक्त नीति निर्माण गर्न सुझाव दिने गर्दछ ।

दूधको मूल्यनिर्धारण गर्ने नीति तर्जुमा गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने, दुग्ध व्यवसाय सम्बन्धमा उत्पादक तथा उपभोक्ताहरुको हितको लागि नेपाल सरकारलाई आवश्यक सुझाव दिने, दूध तथा दुग्धपदार्थहरु र पशु आहाराको उत्पादन एवं प्रवर्द्धनको लागि आवश्यक हुने पदार्थहरुको आयात तथा उत्पादित दूध तथा दुग्ध पदार्थहरु र पशु आहाराको निर्यात सम्बन्धी नीति तर्जुमा गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने र पारित नीति कार्यान्वयन गर्ने, गराउने जस्ता कार्य गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !