उम्मेद्वारकाे कार्यालयमा राखिने झन्डा र चुनाव चिन्हकाे आकार तीन फिट हुनुपर्ने, यस्ता छन् प्रचारप्रसार आचरण
प्रकाशित मिति : 29 April, 2022 12:22 pm
काठमाडाैं । आागामी वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनमा राजनीतिक दल, उम्मेदवार तथा वलको भातृ संगठनले कार्यालयमा राख्न पाइने झण्डा र चुनाव चिन्हकाे आकार तीन/तीन फिट मात्र हुनु पर्ने भएकाे छ ।
निर्वाचन आयाेगले चुनाव चिन्ह र पार्टीकाे झण्डाकाे आकारसहितका आचार बुँदागत रूपमा तयार गरी सार्वजनिक गरेकाे छ । चुनाव प्रचारका लागि गर्न सकिने कार्यहरू यस्ता छन्,
- जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्ने,
- जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्दा स्थानीय प्रशासनको अनुमति लिएर मात्रै सार्वजनिक स्थलमा गर्न हुने,
- जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु २ घण्टा अघिनै स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय र स्थानको जानकारी गराउने,
- A4 साईजको कागजमा आफ्नो व्यक्तिगत पहिचानको विवरण खुलाई वितरण गर्न पाउने,
- जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम गर्दा राजनीतिक दल, उम्मेदवार वा दलको भातृ संगठनले फरक फरक समयमा वा फरक फरक स्थान वा मार्गमा मात्र गर्न पाउने,
- जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारका कार्यक्रम गर्दा बिहान आठ बजेदेखि साँझ सात बजेसम्म मात्र गर्नुपर्ने,
- निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा अठार वर्ष उमेर पूरा भएकालाई मात्रै प्रयोग गर्न वा गराउन हुने,
- निर्वाचन प्रयोजनको लागि पचहत्तर ग्रामसम्मको कागजमा तीनसय वर्ग इन्चसम्मको आकारको एउटै रङ्ग र मुद्रकको नामसहितको पर्चा मात्र प्रयोग गर्न पाउने,
- उम्मेदवारको कार्यालयमा तुल (कपडा) मा बनाईएको ३ x ३ फिटको दलको झन्डा र सोहि नापको चुनाव चिन्ह मात्र प्रयोग गर्न पाउने।