भोट माग्न गाउँ पसे उम्मेदवार
गलकोट । स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गरेसँगै बागलुङका उम्मेदवार भोट माग्न गाउँ पसेका छन् ।
नेता, कार्यकर्ता र कलाकारको टोलीसहित उम्मेदवार चुनाव प्रचारका लागि गाउँ पसेका हुन् । तालमेल गरेर उम्मेदवारी दिएका सत्ता गठबन्धनका संयुक्त प्रचार टोली बागलुङका विभिन्न पालिकामा चुनावी घरदैलो कार्यक्रम लिएर गाउँ पसेका छन् ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र राप्रपाले मनोनयनपछि घरदैलो अभियानलाई तीव्रता दिएका छन् । एमाले काठेखोला गाउँपालिकाले मनोनयन दर्ताको पर्सिपल्टदेखि नै चुनवीसभाको आयोजना गर्न थालेको छ । एमालेले यही वैशाख १४ देखि २५ गतेसम्म धम्जाबाट सुरु गरेको चुनावी अभियान लेखानीमा गएर टुङ्ग्याउने भएको छ । सो अभियान अन्तर्गत काठेखोलाका आठवटै वडामा घरदैलो, भेटघाट र आमसभा गर्ने पालिका कमिटीको निर्णयानुसार प्रचार–प्रसारमा हिँडेको काठेखोला गाउँपालिकामा एमालेका उम्मेदवार डिलबहादुर कार्कीले बताए ।
यस्तै कांग्रेसले बागलुङ नगरपालिकाको २ नं वडाबाट चुनावी अभियान सुरु गरेको छ । यही वैशाख १७ गतेबाट गाउँमा चुनावी अभियान लिएर जाने र अहिले सामान्य भेटघाटको कार्यक्रम सुरु गरिसेको बागलुङ नगरपालिका नगरप्रमुखका उम्मेदवार वसन्तकुमार श्रेष्ठले जानकारी दिए । पाँच दलीय गठबन्धनले यसअघि छुट्टाछुट्टै चुनावी अभियान गरे पनि मनोनयन दर्तापछि पुनः गठबन्धनले नै चुनाव प्रचार–प्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । गठबन्धनले बागलुङ नगरपालिका र वडा वडामा एकमुष्ट सम्पर्क कार्यालय स्थापना गरेको छ ।
“पहिला गठबन्धको बागी उम्मेदवारीलाई फिर्ता गराउने अभियानमा छौँ, गठबन्धनले सबै पालिकामा संयन्त्र गठन गरेको छ, १६ गते साँझ ५ बजेसम्म सबै बागी उम्मेदवारहरूले उम्मेदवारी फिर्ता गर्नुहुन्छ”, उनले भने, “हामीले अब संयुक्तरूपमा नै प्रचार–प्रसारका लागि कार्यालय स्थापनामा समेत छौँ, सँगै प्रचार गर्नेछौँ, अब गठबन्ध चुनावी प्रचारका लागि गाउँ केन्द्रित भएको छ ।” उनले पालिकाअनुसार प्रचारका गतिविधि फरक–फरक शैलीमा गर्न सक्ने र पालिकाको निर्णयानुसार नै प्रचारप्रसारका गतिविधि अगाडि बढ्ने बताए ।
यस्तै एमालेले चुनाव प्रचार–प्रसारलाई गाउँ केन्द्रित बनाएको एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्रप्रकाश शर्माले बताउनुभयो । उहाँले पालिका कमिटीको निर्णयानुसार चुुनावी प्रचारका लागि उम्मेदवार गाउँ पस्न थालेको बताए । “उम्मेदवारी फिर्तापछि प्रचारलाई तीव्रता दिइन्छ, बुधबारबाटै काठेखोलाले प्रचार–प्रसारका लागि वडाअनुसार अगाडि बढेको छ, केही स्वतन्त्र र बागी उम्मेदवार मिलाउन बाँकी पालिकामा १७ गतेपछि प्रचार प्रसारको काम अगाडि बढ्नेछ”, उनले भने, “अहिले एमाले घरदैलोसँगै नयाँ प्रविधिको प्रयोगअनुसार फेसबुक, टिकटकलगायतका सञ्जालबाट समेत प्रचारलाई तीव्रता दिएको छ ।”
विभिन्न राजनीतिक दलहरूले आफूले जितेका पालिकामा गरेका काम र अधुरा कामको विवरण तयार पारिरहेका छन् । बागलुङमा अधिकांश पालिका प्रमुख बन्न राजीनामा दिएर दोहोेरिएकाले आफ्ना अधुरा काम पूरा गर्नका लागि आफ्नो पक्षमा मत प्रयोग गर्न आग्रह गरेका छन् ।
बागलुङको जैमिनी नगरपालिका, निसीखोला गाउँपालिका, बडिगाड, काठेखोला गाउँपालिका र ताराखोलाको प्रमुखमा मात्रै नयाँ अनुहार प्रतिस्पर्धामा छन् । तर बागलुङ नगरपालिका, बरेङ गाउँपालिका, गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाको प्रमुखमा पालिका प्रमुखले राजीनामा दिएर पुनः दोहोर्याउन गठबन्धन र एमालेबाट उम्मेदवारी दिएका छन् । रासस