३ आश्विन २०८१, बिहिबार

कोरोनाले बेलायतमा एक नेपालीको ज्यान लियाे

प्रकाशित मिति :  21 March, 2020 10:05 pm


काठमाडाैं, ८ चैत । 

कोरोना भाइरस (कोभिड-१९) बाट बेलायतमा एकजना नेपालीको मृत्यु भएको छ। संखुवासभाको खाँदबारी नगरपालिका-१० स्थायी घर भई हाल लण्डनको साउथ ह्यारोमा बस्दै आएका पूर्वगोरखा सैनिक ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार मृत्यु भएको हो।

उनको लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको हाे । राईको निधनको तीन दिनपछि मात्रै अस्पतालले उनमा कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका थिए। कोरोना भाइरस संक्रमण भएको रिपोर्ट आउन २४ घण्टादेखि ४८ घण्टासम्म लाग्न सक्छ।

संखुवासभाबाट बसाइँ सरेर सुनसरीको इटहरी उपमहानगरपालिकामा पनि बसोबास गरिरहेका उनी सन् २००८ मा बेलायत गएका थिए। आर्मी नम्बर २११६०५८१ का राई सेकेण्ड गोरखा राइफल्समा १७ वर्षसम्म कार्यरत थिए।  राई बेलायतमा श्रीमती र छोराबुहारीसहित बस्दै आएका थिए। राईको २० वर्षअघि मिर्गौला प्रत्यारोपण पनि गरिएको पारिवारिक श्रोतले जनाएको छ।  कोरोना संक्रमित भएर निधन भएपछि अहिले उनको परिवारलाई नै ‘आइसोलेसन’ मा राखेर निगरानी गरिएको छ।

चीनबाट फैलिएकाे भनिएकाे काेराेनाबाट युराेपमा सबैभन्दा धेरै प्रभाव पारेकाे छ । बेलायतमा शनिबारसम्ममा कोरोना भाइरस संक्रमितको संख्या ४०७२ पुगेको छ। शुक्रबारसम्म संक्रमितको संख्या ३९८३ थियो। तर शनिबार ८९ जना नयाँ संक्रमित भेटिएका हुन्।  त्यहाँ मृत्यु हुनेको संख्या १७७ पुगिसकेको छ। बेलायतमा ठूलो संख्यामा नेपाली समुदायको बसोबास छ। बेलायतमा कोरोना संक्रमितमध्ये ६५ जना मात्रै अहिलेसम्म उपचारपछि स्वस्थ भएर घर फर्केका छन् ।



प्रतिक्रिया दिनुहोस !