विगतका जस्तै चुनावी एजेण्डा, नागरिकको आशा अधुरा
काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाका उम्मेदवारहरूले अहिले पनि विगतमा जस्तै चर्चामा ल्याइएका विषयलाई चुनावी एजेण्डा बनाएका छन् ।
देशको केन्द्रीय राजधानी भएकाले पनि कामपामा धेरै ‘विकासे–मुद्दा’ छन् । विगतका निर्वाचनमा पनि मुख्य एजेण्डा बनाइएका फोहर व्यवस्थापन, स्वच्छ खानेपानी, सार्वजनिक शौचालय निर्माण, व्यवस्थित सार्वजनिक यातायातजस्ता विषय यसपटकको निर्वाचनमा पनि उम्मेदवारको प्रमुख एजेण्डाबाट बाहिरिएको देखिएन ।
अहिले उम्मेदवारहरू भोट माग्नका लागि मतदाताको घरदैलोसम्म जान भ्याइनभ्याई देखिन्छन् । यसरी उम्मेदवार मतदाताको घरदैलो गइरहँदा विगत १२ दिनदेखि सडक किनारामा थुपारिएको फोहरको डङ्गुरले भने उनीहरुलाई गिज्याइरहेको भान हुन्छ ।
काठमाडौँका १८ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापनस्थल सिसडोलसम्म जाने पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य १२ दिनदेखि रोकिएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवासायीद्वारा पटक–पटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौँ उपत्यकाका नागरिकले भोग्नुपरेको छ ।
कामपाको अहिलेका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले पनि प्रमुख मुद्दाका रूपमा फोहर व्यवस्थापनलाई नै लिएका थिए तर व्यवस्थापनको समाधान नै भएन थप समस्या चुलिइरहेएको छ । यो लामो समयदेखिको समस्या हो । यसको दीर्घकालीन समाधानका लागि भने कसैको पनि खासै पहल भएको पाइँदैन । गत फागुन र चैतमा पनि ३२ दिन फोहर अन्तिम व्यवस्थापनस्थलसम्म पुग्न सकेको थिएन ।
कामपा–१७ को यशोदा शर्मा हरेक पटकको निर्वाचनमा चुनावी नारा बनको काठमाडौँको फोहर व्यवस्थापन कार्यको दीर्घकालीन समाधान नहुनाले नागरिकले निकै समस्या भोग्नुपरेको गुनासो गर्नुहुन्छ । विगतका जस्तै आगामी दिनमा पनि उक्त समस्या समाधानार्थ उपाय नखोज्ने हो भने आगामी वर्षहरूमा विकराल समस्या आउने शर्मा बताउँछन् ।
“कामपामा बाक्लो बस्ती छ, त्यसमाथि हप्तौँसम्म फोहरको व्यवस्थापन हुन नसक्नु र पटक–पटक यही नै चुनावी नाराको रूपमा आउनु जनताको समस्यामा जनप्रतिनिधिले झुटको खेती गरिरहेको प्रष्ट हुन्छ”, शर्माले भने ।
कामपाको अर्को मूल समस्या खानेपानीको हो । नियमितरूपमा पानी अझै पनि आउँदैन । अन्यत्रबाट ट्याङ्करमा ल्याइएको पानी खानु नगरवासीको दैनिकी हो । त्यतिमात्रै होइन बाहिर निस्कँदा सार्वजनिक स्थानमा बटुवाका लागि खानेपानीको व्यवस्था पनि कामपाले गर्न सकेको छैन । प्रत्येक पटकको चुनावी नारा बनेको खानेपानी, बिजुली, सहज सार्वजनिक यातायात, फोहर व्यवस्थापनजस्ता विषय कामपाको न्यूनतम मापदण्डभित्र पर्दछ ।
कामपामा शौचालाय निर्माणको विषय पनि नारामै सीमित रहेको देखिन्छ । सामान्यतया महानगरपालिकामा कम्तीमा ५०० मिटरदेखि एक किलोमिटरको दूरीमा एक सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । हाल कामपामा अव्यवस्थितरूपमा सञ्चालन भएको ६० सार्वजनिक शौचालय छन् । यसअघिको जनप्रतिनिधि आउनुअघि नै कामपामा सार्वजनिक शौचालय थप्ने विषय चर्चामा थियो तर वर्षौँ बितिसक्दासम्म न नयाँ थप्न सकिएको छ, न त भएकालाई व्यवस्थापनको काम ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कमपाको प्रमुखमा ५५ जना र ३० को उपप्रमुखमा उम्मेदवारी परेको छ । प्रमुख पदका लागि कामपामा सत्ता गठबन्धनबाट सिर्जना सिंह रहेकी छन् भने नेकपा ९एमाले०बाट केशव स्थापित चुनावी मैदानमा छन् । यस्तै कामपाकै उपप्रमुख पदका लागि सत्ता गठबन्धनबाट उपप्रमुखमा नेकपा ९एकीकृत समाजवादी०का रामेश्वर श्रेष्ठको उम्मेदवारी छ भने एमालेबाट सुनिता डङ्गोलको उम्मेदवारी छ । सबै उम्मेदवारको मुख्य एजेण्डामा यसअघिका प्रमुख र उपप्रमुखको भन्दा खासै फरक देखिदैन ।
गठबन्धनको तर्फबाट कामपाको प्रमुखमा आफ्नो उम्मेदवारी दिनुभएको सिंहले सार्वजनिक स्थानमा निःशुल्क खानेपानी, स्वच्छ सफा र दिगो पर्यावरणलाई आफ्नो चुनावी एजेण्डा बनाए। त्यसैगरी गठबन्धनकै तर्फबाट उपप्रमुखको उम्मेदवार श्रेष्ठले हाल काठमाडौँमा मुख्य समस्यामा रहेको फोहरलाई वैज्ञानिकरूपमा समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै एमालेको तर्फबाट प्रमुखका उम्मेदवार केशव स्थापति र उपप्रमुख सुनिता डङ्गोलले पनि सुरक्षित सहर, शिक्षा र सामाजिक सुरक्षा, स्वच्छ सफा पर्यावरण, संस्कृति र सम्पदाको संरक्षणजस्ता विषयलाई चुनावी नारा बनाएका छन् । निर्वाचनको समयमा पटक–पटक नागरिकको समस्यालाई नाराका रूपमा लिने र निर्वाचनपछि ती विषय ओझेलमा पर्ने गरेका कारण अहिले नागरिक राजनीतिक दलको प्रतिबद्धतालाई ‘झुटा आश्वासन’को सङ्ज्ञा दिने गरेको पाइन्छ ।
कामपा–१८ का राजु कपालीले यसअघिका स्थानीय निर्वाचनमा पनि उम्मेदावारहरूले यस्तै किसिमको झुटा वाचा गरेकाले अहिलेको निर्वाचनमा मतदान गर्नका लागि आफू त्यति धेरै उत्साहित नभएको बताउँछन् । उनी भन्छन्, “उम्मेदवारले आ–आफ्ना वाचा पूरा गरेभने म जस्तै सबै नागरिक उत्साहित बन्नेछन् ।”रासस