नेपाल फाइनान्सले जेठ ६ गतेदेखि हकप्रद सेयर जारी गर्दै
काठमाडौं । आगामी जेठ ६ गतेदेखि नेपाल फाइनान्स लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले ६ गतेदेखि हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.७० कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ ५० पैसा बराबरको ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता हकप्रद जारी गर्न लागेको हो।
हाल ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ ५० पैसा पुग्नेछ।
कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले हकप्रद प्रयोजनका लागि वैशाख २१ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, वैशाख २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रदमा जेठ २६ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल, नेपाल फाइनान्सका केन्द्रिय तथा शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन्।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर सी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ।