घोषणापत्रमै सीमित रोल्पाको गरिबी निवारण
वैशाख । रोल्पा नगरपालिका २ रेउघाका ६२ वर्षीय गोपाल सुनार, ५९ वर्षीया आसार सुनार र ५७ वर्षीय प्रसाद सुनार मुख बाेल्न सक्दैनन् । जन्मजात मुख नवोल्ने यो परिवार रोल्पा अस्पताल नजिक सरकारले बनाइ दिएको घरमा बस्छन् ।
गरिबी निवारण र सम्वृद्धिको नारा पस्कदै हुलका हुल गाडीमा लावा लस्कर नेता कार्यकर्ता धेरै पटक उनको घर हुँदै चुनाव प्रचारमा ओहोर दोहोर गर्दा कसैको दृष्टीमा परेको छैन सुनार परिवार ।
मुख नबोल्ने उनीहरु हातको संकेतबाट कुरा गर्छन् । घरमा खाना नभएका कारण कैयौँ रात भोकभोकै सुत्न बाध्य हुन्छन् । राजनीतिको “र” थाहा नभएको यो परिवार पनि धेरै पटक सशस्त्र द्वन्द्वको शिकार भयो ।
न सुत्नको लागि ओछ्यान छ, न त खानको लागि अन्न नै । मागेर पेट पाल्ने तीन दाजु बहिनी संकेतबाट कुरा गर्छन् । वृद्धावस्थाका कारण राम्रोसँग आँखा नदेखे पनि जीवन धान्ने उपाय बनेको दाम्ला र डोरी बुन्ने काम भने छोड्न सकेका छैनन् । जाडो होस या गर्र्मी एकसरो कपडामा रहन्छन उनीहरु । सुत्नको लागि ओढ्ने ओछ्याउने कपडा नहुँदा उनीहरुका कैयौं रात कठांग्रीएर बिते ।
उनीहरूको खुट्टाले अहिलेसम्म जुत्ता चप्पल देख्न पाएको छैन । हिउँद होस वा वर्षा खाली खुट्टा हिड्नुको विकल्प छैन उनीहरूको लागि । बस्ने घर नहुँदा लामो समय नातेदारको घरमा वसेका उनीहरू पछिल्लो पटक सरकारले निर्माण गरेको घरमा बस्दै आएका छन् ।
दाजु गोपाल र भाइ प्रसादले गाउँलेको दाम्लो र डोरी बुन्छन् । दाम्लो र डोरी बुनेवापत दिने २/४ माना अन्न र सय/पचास रुपैयाँ भएको छ, त्यो परिवार बाच्ने आधार । गाउँमा हुने विवाह तथा शुद्ध कार्यमा गएर कैयौं दिनका छाक टार्ने गर्दछन् । त्यस्ता काममा गएका उनीहरुलाई गाउँलेले कृपा गरेर दिने एक दुइ सय रुपैयाँ पनि साँझ बिहान जोहो गर्ने आधार बनेको छ ।
वडा कार्यालयले गोपाललाई जेष्ठ दलित भत्ता वापत मासिक १ हजार र प्रसादलाई मासिक ६ सय रुपैयाँ उपलव्ध गराउदै आएको छ । आसारा भने विवाह गरेर अन्यत्र गएको र पछि फर्केर आएको भन्ने जानकारी हुन आएकाले भत्ता दिइएको छैन।
रोल्पाको माडी गाउँपालिका २ घर्तीगाउँ पारिबाङकी लालसरी घर्तीमगर विरामी भएर थला परेको ८ वर्ष भयो । ९ वर्षको उमेरमै दुवै खुट्टा चल्न छाडेपछि कक्षा ३ मा पढ्दै गरेकी उनको पढाईमा विश्राम लाग्यो । अहिले उनी १७ वर्षकी भईन् ।
आमा भीमकुमारी घर्तीमगरको मृत्यु भएको ४ वर्ष भयो । बुवा पनि अपाङ्ग । बुवाको दुवै खुट्टाले राम्रोसँग काम गर्दैनन् । घरमा १४ वर्षकी विपना र ९ वर्षकी दीपा दुई अबोध बहिनीहरु र ८१ वर्षिय हजुर आमा नौला घर्तीमगर मात्रै छन् ।
दुवै खुट्टा नचल्ने उनको अचेल कम्मर मुनीको भाग चल्दैन । दाँया खुट्टामा घाउ आएको छ । घाउ पाकेर पिप चुहिन्छ । चौविसै घण्टा पिसाब चुहिन्छ । उनलाई एक ठाउँबाट अर्को ठाउँ सार्दा साहारा चाहिन्छ।
आमा छँदा आमाले र आमाको मृत्यु पछि सानी आमाले उनको उपचारका लागि दाङको गोरखा अस्पताल, काठमाण्डौको बालकान्ति अस्पताल र टिचिङ अस्पताल, काभ्रे वनेपाको शील मेमोरियस अस्पताल जस्ता दर्जनौ अस्पताल पुर्याए । तर घरको आर्थिक अवस्था कमजोर भएकी उनलाई पैसा अभावले राम्रो उपचार हुन पाएन ।
अस्पतालको धान्नै नसकिने शुल्क । सहयोग उठाएको २÷४ पैसा र ऋण गरेको पैसाले कहाँ धान्थ्यो र । ऋण धेरै भएपछि ७ लाख मूल्यमा खेत पनि वेच्यो उनको परिवारले । उपचार गर्दा विभिन्न व्यक्तिवाट लिएको ऋण तिर्न पुगेन खेत वेचेको पैसा ।
घर अगाडी ३ महिना खान नपुग्ने पाखो वारी वाहेक अव उनको परिवारसंग अर्थोक केही छैन । साँझ विहानको हातमुख जोर्न समस्या छ । अहिले सम्म सानी आमाले चामल, मकै, दालको जोहो गरिदिएकी छिन् ।
अहिलेसम्म जसो तसो साँझ विहान खाने जोहो गर्दै आएको छु, आफ्नै परिवार पाल्न हम्मे हम्मे परेको मलाई लामो समय सम्म सहयोग गर्न सक्ने हैसियत छैन विरामीकी सानीआमा विर्षना घर्तीमगरले भन्नुभयो ।
रोल्पा नगरपालिका र माडी गाउँपालिकामा गरिबीका दुई प्रतिनिधि घटना हुन् । रोल्पाको कुल जनसंख्याको आधा अझै गरिवीको रेखामुनी छ । नेपाल गरिबी लघुक्षेत्र अनुमान अनुसार रोल्पामा गरिबको संख्या ५७ हजार ५०४ छ । यो जिल्लाको कुल जनसंख्याको करिव आधा हो । जिल्लामा गरिवीको यति ठूलो संख्या रहेपनि यहाँका राजनैतिक दलको प्राथमिकतामा गरिवी परेको छैन ।
“चुनावमा तयार गरिने घोषणा पत्रमा गरिबी प्राथमिकतामा पर्दैन रोल्पा नगरपालिका वडा नंं २ का समाजसेवी भिमसेन घर्तिमगरले” भने । पूर्वाधार लगायतका क्षेत्र रोज्ने दलहरु घोषणा पत्रमै यो क्षेत्रलाई छुटाउने गर्छन् घर्तीमगरले भने ।
यहाँका स्थानीय सरकार गरिवमुखी कार्यक्रममा कहिल्यै अग्रसर हुनन् । उनीहरु भ्युटावर जस्ता देखासिकी विकासमा तल्लिन देखिएका छन् । उनीहरुको प्राथमितामा गरिबी न हिजो पर्यो न आज नै ।
सामाजिक–आर्थिक तथा अन्य दृष्टिले समेत पछि परेको रोल्पा समग्र विकास सूचकांकमा नेपालका ७७ जिल्लामध्ये ६८ औं स्थानमा छ । यहाँका राजनैतिक दल र स्थानीय सरकार भने कुविकासको नमुना पस्किंदै यहाँका अग्ला डाँडामा भ्यूटावर बनाउने प्रतिस्पर्धामा छन्। वितेको ५ वर्षमा यहाँ ३ वटा र त्यस अघि एउटा समेत यहाँका अग्ला डाँडामा ४ वटा भ्यूटावर बनिसकेका छन् ।
२०५५ मिटर उचाइँमा रहेको रोल्पा नगरपालिका– ३ सातदोबाटोस्थित चुच्चे डाँडोमा भ्यूटावर वनेको छ । ११२ फिट अग्लो यो टावरमा वनेको उक्त भ्युटावरको लागत ६ करोड बढी रहेको छ ।
थबाङ गाउँपालिकाले जलजलामा रु. २५ लाखको लागतमा भ्यूटावर निर्माण गरेको छ । अघिल्ला आर्थिक वर्षका लागि त्रिवेणी गाउँपालिकाले पनि लुम्बिनी प्रदेश सरकारको रु. २५ लाख लगानीमा टिलामा भ्यूटावर निर्माण आरम्भ गरेको छ ।
होलेरी एकीकृत पर्यटन विकास अन्तरगत गढीलेखमा समेत भ्यूटावर निर्माण गरिएको छ । तत्कालीन जिल्ला विकास समिति रोल्पा मार्फत आर्थिक वर्ष ०७०÷०७१ मा रु. २० लाख निकासा गरी उक्त भ्यूटावर निर्माण गरिएको हो ।
“गरिबी निवारण हरेक दलको प्राथमिकताको विषय हुनुपर्ने हो तर त्यसो देखिएन,” महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष तिर्था आचार्यले भनिन्। उनीहरुको प्राथमिकतामा भौतिक पूर्वाधार पर्दा यो क्षेत्र छुट्ने गरेको उनकाे भनाइ छ ।
आचार्यका अनुसार आसन्न स्थानीय तह निर्वाचनको घोषणा पत्रमा समेत यो क्षेत्रले प्राथमिकता पाएको छैन । “स्थानीय सरकारले समेत गरिबी न्यूनिकरणका लागि प्रभावकारी कार्यक्रम ल्याएको देखिएन,” आचार्यले भनिन्।