आज राति १२ बजे पछि मौन अवधि सुरु
काठमाडौं । स्थानीय तहको निर्वाचन प्रचारप्रसारका लागि आज अन्तिम दिन रहेको छ । आज राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाइने निर्वाचन आयोगले जनाएको छ ।
चुनावका लागि आज मध्येराति १२ बजेपछि मौन अवधि सुरू हुनेछ। मंगलबार राति १२ बजेदेखि ३० गते मतदान नसकिदासम्म मौन अवधि लागु हुनेछ । मौन अवधिमा चुनावी प्रचार गर्न रोक लगाइएको छ ।
आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार\प्रसारका सामग्री हटाउन तथा सामाजिक संजालमा पोष्ट गरिएका चुनावी प्रचार सामाग्री हटाउन निर्देशन दिएको छ ।
निर्वाचन ऐनअनुसार मतदान हुनुभन्दा ४८ घन्टा पहिलेदेखि मौन अवधि सुरु हुन्छ। मौन अवधिमा भोट माग्नेलगायत कार्य नगर्न पनि आयोगले आग्रह गरेको छ भने सामाजिक सञ्जालबाट पनि चुनावी प्रचारका सामग्री हटाउन निर्देशन दिएको छ ।
आयोगले मौन अवधि पूर्ण रूपमा पालना गर्न राजनीतिक दल, उम्मेदवारलगायत सरोकारवाला सबैमा आग्रह गरेको छ। शुक्रबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानका लागि समय दिइएको छ।