८ मंसिर २०८१, शनिबार

कतैपनि मतदान स्थगित भएको छैन: निर्वाचन आयोग

प्रकाशित मिति :  13 May, 2022 3:03 pm


काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत आज भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा छिटफुट घटनाका कारण केही समय मतदान अवरुद्ध भए पनि कहीँकतै स्थगित नभएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार देशका विभिन्न २९ स्थानमा राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण केही समय मतदान रोकिएको भए पनि स्थगित भने नभएकोे आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

अहिले अपराह्न २ बजेसम्म ९५ प्रतिशत मतदान भएको उनले जानकारी दिए । उनका अनुसार मतदान अवरुद्ध भएको ठाउँमा पनि आयोगको तर्फबाट कमी कमजोरी भएका कारण नभइ राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण भएको हो ।

कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी छ । “दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला, बाजुरालगायत केही जिल्लाका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदानकार्य अवरुद्ध भएको र पुनःसञ्चालन गर्ने प्रयास भइरहेको छ”, उनले भने ।

शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदाताहरु लामबद्ध भई मतदानमा सहभागी भइरहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस !