६ मंसिर २०८१, बिहिबार

पर्वतका ६१ वडाध्यक्षमा महिलाको सङ्ख्या शून्य, यस्ता छन् पालिका प्रमुखहरूका प्रतिवद्धता

प्रकाशित मिति :  22 May, 2022 2:59 pm


लक्ष्मीप्रसाद सापकोटा-

पर्वत। पर्वत जिल्लाको सात स्थानीय तहका ६१ वटा वडाध्यक्षका पदमध्ये कुनैमा पनि महिला निर्वाचित हुनसकेका छैनन् । सबै वडाध्यक्षमा पुरुष नै निर्वाचित भएका हुन्।

विहादी गाउँपालिका–१ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी विष्णु खड्का र कुश्मा नगरपालिका–११ पकुवामा गठबन्धनबाटै माओवादी केन्द्रकी लीला दबाडी उम्मेदवार बनेका थिए । जिल्लाभर दुई जनामात्रै वडाध्यक्षको उम्मेदवार बने पनि पराजित भएका भए।

विहादी १ मा नेकपा (एमाले)का चित्रबहादुर गुरुङसँग खड्का पराजित भएकि हुन् भने कुश्मा–११ मा पनि एमालेकै बाबुराम पौडेलसँग दबाडी पराजित भइन्।

अघिल्लो स्थानीय तहको निर्वाचनमा कुश्मा–४ र ५ मा नेपाली कांग्रेसको तर्फबाट क्रमशः मीना कर्माचार्य र चित्रकला शर्मा भारती निर्वाचित भएका थिए। यस पटक भने वडाध्यक्षमा महिलाको सहभागिता शून्य रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

महिला उम्मेदवारको सङ्ख्या नै कम रहेको र महिला उठेका पनि विजयी हुन नसकेकाले ६१ वडाका अध्यक्षमा महिलाको प्रतिनिधित्व हुननसकेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले बताए । जिल्लामा एउटा पालिकाले भने महिला नै प्रमुख पाएको छ।

मोदी गाउँपालिकामा एमालेको तर्फबाट उम्मेदवार बनेकी हीरादेवी शर्मा अध्यक्षमा निर्वाचित भएकी हुन् । उक्त गाउँपालिकामा एमालेकै उम्मेदवार बिमल लामिछाने पनि उपाध्यक्षमा निर्वाचित भए। गठबन्धनका कारण प्रमुख र उपप्रमुखमा जलजला गाउँपालिकाले महिलालाई पाउन सकेन । जलजलाको अध्यक्ष र उपाध्यक्षमा दुवै पुरुष निर्वाचित भए।

कांग्रेसको तर्फबाट उम्मेदवार बनेका राजु आचार्य र माओवादीबाट उपाध्यक्षको उम्मेदवार बनेका दीपक आचार्य विजयी भएपछि उपाध्यक्षमा महिलाको स्थान गुमेको हो । जिल्लाका बाँकी पाँच स्थानीय तहमा भने उपप्रमुख/उपाध्यक्ष महिलानै विजयी भए।

फलेवास नगरपालिकामा माओवादी केन्द्रबाट शोभा क्षेत्री, विहादीमा एमालेकी मीना तिवारी, पैँयू गाउँपालिकामा एमालेकै यामकुमारी राना र महाशिला गाउँपालिकामा पनि एमालेबाटै उम्मेदवार बनेकाेमा धनशोभा विक विजयी भए।
जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिकमा महिला उपप्रमुख वा उपाध्यक्ष छन्, भने बाँकी दुई पालिकामा पुरुष उपाध्यक्षमा निर्वाचित भए।

यस्ता छन् पमुखहरूका प्रतिवद्धता

फलेवास नगरपालिकाका नवनिर्वाचित प्रमुख गङ्गाधर तिवारीले आफू शासक हुन नभइ जनताको सेवक बन्नको लागि आएको बताए । निर्वाचित हुनु अघिसम्म कुनै दलबाट उम्मेदवार भए पनि अब निर्वाचित भइसकेपछि आफूहरू सबै नागरिकको साझा व्यक्ति बन्ने उनकाे भनाइ थियो।

शपथ लिएपछि पदभार ग्रहण कार्यक्रममा नगरप्रमुख तिवारीले अघिपछि आफ्ना नेतालाई भेटे पनि सरकारी कार्यालयको ‘गेट’ मा प्रवेश गरेपछि कसैले पनि राजनीति गर्न नपाउने बताउँदै आफैले त्यो कामको सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे।

“पाँच दलीय होइन कि छ दलीय गठबन्धनबाट म निर्वाचित भएको हो । म सबैको साझा व्यक्ति हो । नेपालको नमूना नगरपालिका बनाएर देखाउन सकेमा सबैको चित्त बुझ्न सक्छ” उनले भने, “म पैसाको लागि नगरप्रमुख भएको होइन आफ्नै खर्चमा भए पनि जनताको सेवा गर्न पाए मेरो लागि सौभाग्य हो । म जनताको सेवा गर्न आएको हुँ शासक हुन होइन ।”

नगरप्रमुख तिवारीले नगरपालिकाको मोबाइल सेट प्रयोग नगरे पनि सिम भने प्रयोग गर्ने तर त्यसको रिचार्ज पनि आफ्नै खर्चले गर्ने, निजी सवारी साधन प्रयोग गरेर नगर प्रमुखले चढ्न पाउने गाडी समस्यामा परेका नागरिकको उद्धार, राहत र सहयोगमा प्रयोग गर्ने बताए।

फलेवासकै उपप्रमुख शोभा क्षेत्रीले पनि शपथ तथा पदभार ग्रहण गर्दै आफू जनताकै माझबाट आएको एउटा प्रतिनिधि भएका कारण जनताकै सुझावको आधारमा काम गर्ने बताइन् । नागरिकले देखाएकै बाटोमा आफू जाने र त्यसका लागि उत्पादनमा आधारित अनुदान, किसानलाई सहज सेवा, कार्यालय सञ्चालन छिटोछरितो र नगरभित्र यातायातको सुविधालाई व्यवस्थित गर्नेलगायत महत्वपूर्ण योजना आफूमा रहेको उनकाे भनाइ थियाे।

मोदी गाउँपालिकाकी अध्यक्ष हीरादेवी शर्माले पनि पदभार ग्रहण गर्दै जनताको साथमा रहने प्रतिबद्धता जनाइन । त्यसका लागि आगामी दिनमा सुत्केरीलाई ओसारपसार गर्न निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गरिन्।

महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै आर्थिक अवस्था कमजोर हुने परिवारले समयमा उपचार पाउन नसक्ने भएकाले यस्तो सहयोग कार्यक्रमको घोषणा गरिएको उनकाे भनाइ थियो । सोही गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले स्थानीय सरकार जनताको पहिलो सरकार भएकाले जनताको आधारभूत आवश्यकता पूरा गर्नका लागि पनि यस्तो घोषणा गरिएको उल्लेख गरे।

गाउँपालिकाभित्रका विपन्न तथा गरिब जनताले यस्तो सुविधाबाट प्रत्यक्ष लाभ लिन पाउने भन्दै उहाँले वर्तमान पदाधिकारी गाउँपालिका गरिब, निमुखा र विपन्न परिवारको हित र भलोको लागि सधैँ तत्पर रहने बताए। सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले दोस्रो पटक पनि चुनाव जितेका छन् । उनले अघिल्लो कार्यकालमा जनताले सोचेका तर आफूले गर्न नसकेका कामहरू गर्ने प्रयासमा रहने बताए ।

पहिलो कार्यकालमा पूर्वाधार विकासका ठूला काम गर्दा नागरिकका साना मागको सम्बोधन हुन नसकेका कारण यस पटक जनताले प्रत्यक्ष देख्ने र अनुभव गर्ने खालका काम गर्ने नगरप्रमुख जोसीले बताए।

जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले कृषि उत्पादनको निर्यातबाट नागरिकलाई समृद्धिको बाटोमा लैजाने सपना देखेको बताए । उत्पादनका लागि उर्वर जमिन रहेको जलजलाले उत्पादनमा नै जोड दिने हो भने सामान्य नागरिकको दैनिक जीवन पनि सहज बन्ने अवस्था रहेकाले जग्गा बाँझो नराख्ने, केही न केही उद्यममा नागरिकलाई जोडने, सडक, स्वास्थ्य र शिक्षामा गुणस्तर कायम गर्नेलगायत योजना आफ्नो रहेको उनले बताए।

रासस



प्रतिक्रिया दिनुहोस !