१० मंसिर २०८१, सोमबार

नेपालमा भेटिएको अफ्रिकन स्वाइन फिभर रोग न्यूनिकरण कसरी गर्न सकिन्छ?

प्रकाशित मिति :  23 May, 2022 6:40 pm


काठमाडौं । कोरोना महामारी नियन्त्रण नहुँदै पुन: एक भाइरसले मानिसहरुलाई त्रसित बनाएको छ । नेपालमा समेत भेटिएको ‘अफ्रिकन स्वाइन फिभर’ घरपालुवा सुँगुर, बंगुर तथा जंगली बँदेल प्रजातिमा विषाणुको कारण लाग्ने उच्च मृत्युदर भएको अति खतरनाक महामारीजन्य सरुवा रोग मानिन्छ ।

याे राेग पशुबाट मानिसमा नसर्ने पशु सेवा विभागले जनाएको छ। तर पशु बाट पशुमा छिटै सर्ने भएकाले यसले गर्ने क्षति ठूलाे हुन सक्ने अनुमान गरिएकाे हाे ।

विगतमा यो रोग अफ्रिकी महादेशमा मात्र सीमित रहेकोमा सन् २०१८ मा चीनमा देखापरे पक्षात् क्रमशः यो रोग एसियन क्षेत्रका मुलुक हुँदै छिमेकी मुलुक चीन, भारत र भुटानमा समेत देखा परिसकेको छ।

नेपालमा यो रोग फैलिन नदिन सीमा नाकामा क्यारेन्टाइनलाई सतर्क अवस्थामा राखी देशभित्र रोगको सर्भिलेन्सलाई नियमित राखिएको पशु सेवा विभागले जनाएको छ।

काठमाडौंको कागेधरी मनोहरा क्षेत्रमा पालिएका बङ्गुरमा उच्च मृत्युदर देखा परेपछि सो क्षेत्रबाट गत चैत्रको अन्तिमम समग्र नमूना सङ्कलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा मलिकुलर र सिरोलोजिकस विधिबाट परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोग भएको प्रारम्भिक नतिजा प्राप्त भएको थियो।

नेपालमा पहिलो पटक रोगको संक्रमणको आशंका भएकोले रोग पुष्टि गर्न नेपाल सदस्य रहेको विश्व पशु स्वास्थ्य सङ्गठनले तोके अनुसार अस्ट्रेलियास्थित रिफरेन्स प्रयोगमा परीक्षणका लागि नमुना पठाइएकोमा जति २०७९ साल जेठ २ स्वाइन फिभर रोग पुष्टि भएको विभागले जनाएको छ ।

पशु सेवा विभागको प्राविधिक टोलीले प्रदेश सरकार र स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायसँग सहकार्यमा रोगको सघन निगरानी गर्ने क्रममा कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरी, टोखा र दक्षिणकाली क्षेत्र, ललितपुर जिल्लाको गोदावरी क्षेत्र र भक्तपुर जिल्लाको चाँगुनारायण क्षेत्रमा संक्रमण फैलिएको अफ्रिकन स्वाइन फिभरबाट हालसम्म १०१९ सुँगुर तथा बङ्गुर मरेका छन् ।

यो रोगबाट संक्रमण भएमा सुँगुर प्रजातिमा उच्च ज्वरो आउने (१०४ देखि १०७ डिग्री फारेनहाईट), कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छट्पटाउने, चाल धरमराउने, तुहिने जस्ता लक्षण सहित बथानमा एकै पटक ठूलो संख्यामा सुँगुर, बद्गुर तथा बँदेल मर्ने गर्दछन् । यो रोग विशेष गरी रोगी बङ्गुर वा त्यसका पाठापाठी वा मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा सजिलै सर्ने हुँदा रोग छिटो फैलन सक्छ।

यो रोग विरुद्ध हालसम्म कुनै खोप उपलब्ध नभएको र रोग विरुद्ध प्रभावकारी उपचार नहुने हुँदा रोग देखा परेमा ठूलो आर्थिक क्षति गराउने हुँदा कुनै स्थानमा अस्वाभाविक रूपमा बङ्गुर मरेमा वा माथिका लक्षण देखा परेमा तत्काल संघ, प्रदेश र स्थानीय तहमा रहेका पशु सेवासँग सम्बन्धित कुनै पनि निकायमा खबर गर्न पशु सेवा विभागले अनुरोध गरेको छ।

अफ्रिकन स्वाइन फिभरबाट कसरी बच्ने

-फार्ममा जैविक सुरक्षाका विधिहरूको अवलम्बन गर्ने,

-बंगुर पालिएको खोर, फार्म परिसरमा नियमित सरसफाई गरी चुना, ब्लचिंग पाउडर, फर्मालिन जस्ता सामग्री प्रयोग गरी निःसंक्रमण गर्ने,

-रोगको शंका लागेका पशुहरूलाई बथानबाट छुट्टाएर अलग्गै राख्ने,

-पशुको नमूना प्रयोगशाला परीक्षण गराउने र रोग प्रमाणित भएमा सो खोरमा रहेकाप शुलाई मानवीय तवरले नष्ट गर्ने,

-मरेको पशुलाई खाडलमा गड्ने वा जलाउने,

-घरपालुवा सुँगुर बंगुरलाई जंगली बँदेलको सम्पर्कमा आउन नदिने,

-सुँगुर, बंगुर वा बँदेललाई होटेल तथा रेष्टुरेन्टबाट निस्कने फोहोर खानेकुरा नखुवाउने,



प्रतिक्रिया दिनुहोस !