जीत निश्चित भएपछि बालेन शाहले भने ‘घोषणापत्रमा भएका कुरा लागू गर्न सकेको दिन मनाउँला विजय उत्सव’
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले निर्वाचनको परिणामलाई जित–हारको रुपमा नहेर्न आग्रह गरेका छन् ।
आफू निर्वाचित हुने सुनिश्चित भएपछि बालेनले बुधबार फेसबुक पेजमार्फत लामो स्टासट लेखेर आफ्नो समर्थकहरूलाई विजय जुलुस नगर्न र विजय यालीको नाममा विभिन्न जिल्लाबाट काठमाडौं नआउन आग्रह गरेका हुन् ।
बालेनले उक्त स्टाटसमा घोषणापत्रमा भएका कुराहरू लागु गर्न सकेका दिन मात्रै सबै मिलेर विजय उत्सव मनाउँने बताएका छन् ।
‘स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ ।अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौं भनेर महानगरका मतदाताहरूले हामीलाई विश्वास गर्नुभएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जित वा हार हुँदैन ।’
मेयरका उम्मेदवार बालेनले निर्वाचित भएदेखि आफ्नो वास्तविक परीक्षा सुरु भएको र आफ्नो कामकारबाहीलाई खबरदारी गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘अबको हाम्रो पहिलो यात्रा काठमाडौंको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडि बढौं।’ त्यस्तै उनले निर्वाचित हुनेले अरु प्रतिस्पर्धीको तुलनामा ज्याद मत ल्याए पनि बहुमत नल्याएको भन्दै उनले आफूलाई मतदान नगर्नेहरुको भावनामा समेत चोट नपर्ने गरी काम गर्ने प्रतिबद्धता गरेका छन् ।
काठमाडौं महानगरपालिकाको सबै मत गणना नहुँदै बालेनको विजय निश्चित बनेको छ ।प्राप्त पछिल्लो विवरण अनुसार बालेनले आफ्ना प्रमुख प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग २०१९६ मतको अग्रता लिएका छन् ।
जबकि अब काठमाडौंको १९६४९ मत मात्रै गन्न बाँकी छ । अबको गणनामा कुनै भोट आएन भने पनि नतिजामा फरक पर्ने छैन ।
काठमाडौंमा कुल १ लाख ९१ हजार १८६ भोट खसेको थियो ।