एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीहरुलाई ‘एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मान २०७८’ प्रदान
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ । एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पुल्चोक क्याम्पसका पाँच संकायमा अध्ययनरत विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको हो ।
२०७१ सालबाट शुरु गरिएको यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उदेश्य राखेको छ । यस कार्यक्रम अन्तर्गत सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिने एनसेलले जनाएको छ ।
२०७८ का लागि १८ वटा शीर्षक अन्तर्गत सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको छ । साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उतीर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ ।
इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा. शशीधर राम जोशीले एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमकोलागि एनसेलसँग सहकार्य गर्न पाएकोमा खुसी भएको बताएका छन् ।
यसैगरी कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्नु यस कार्यक्रमको उदेश्य रहेको बताए । उनले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत, शिक्षा क्षेत्र प्राथमिकतामा रहेको र यसलाई निरन्तर उच्च प्राथकितामा राख्ने बताएका छन् ।
एनसेल छात्रवृत्ति इन्जिनियरिङ्ग पाँच संकायमा स्नातक तहको प्रथम, द्धितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्धितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्दछन् भने पाँचवटै संकायका छात्रा मध्येबाट उत्कृष्ट नतिजा ल्याएका द्धितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक÷एक जना गरी तीन छात्राले यो छात्रवृति पाउने गर्दछन् ।
यसैगरी उत्कृष्टता सम्मान अन्तर्गत सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १÷१ जना र यी पाँचै संकायका छात्राहरु मध्यबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्दछ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि १ लाख रुपैँया रहेको एनसेलले जनाएको छ ।