९ मंसिर २०८१, आइतबार

उडिरहेको विमानभित्रै परिचारिकाको दाँत भाँच्ने महिलालाई जेल सजाय

प्रकाशित मिति :  29 May, 2022 3:22 pm


काठमाडौं । साउथवेस्ट एयरलाइन्सकी परिचारिकालाई उडिरहेको विमानमा मुक्का हानेर दाँत भाँच्ने क्यालिफोर्नियाकी एक महिलालाई सङ्घीय जेलमा १५ महिनाको सजाय सुनाइएको छ ।

सान डिएगोका सङ्घीय न्यायाधीशले भिभियाना क्विनोनेजलाई २६हजार डलर क्षतिपूर्ति र सात हजार पाँचसय डलर जरिवाना तिर्न आदेश दिएका छन् । न्यायाधीश टोड डब्ल्यू रोबिन्सनले क्विनोनेजलाई व्यावसायिक विमानमा तीन वर्षसम्म उडान गर्न निषेध गरेका छन् भने उनले क्रोध व्यवस्थापन कक्षा वा परामर्शमा भाग लिनुपर्ने आदेश पनि दिएका छन् ।

गत वर्ष मार्च २३ मा साउथवेस्ट एयरलाइन्सको विमानमा सेक्रेमेण्टोबाट सान डिएगो जाने क्रममा क्विनोनेजले एकजना परिचारिलाई बारम्बार मुक्का प्रहार गरी उनको अनुहार रगतम्य पार्नुका साथै तीनवटा दाँत भाँचिदिएकी थिइन् । आक्रमणको भिडियो सामाजिक सञ्जालमा व्यापक भएको थियो ।

विमान परिचारकहरूलाई धकेल्ने, प्रहार गर्ने र चिच्याउने यात्रीहरूले अनियन्त्रित र हिंसात्मक व्यवहारको वृद्धिको बीचमा उक्त आक्रमण भएको थियो । देशका दुई प्रमुख अमेरिकन एयरलाइन्स र साउथवेस्ट एयरलाइन्सले यात्रीका दुव्र्यवहार रोक्ने प्रयासमा उडानका बेला मदिरायुक्त पेय बिक्री बन्द गरेका थिए । हाल दुवै एयरलाइन्सले मदिरा बिक्री फेरि सुरु गरेका छन् ।

गत साता अदालतमा पेश गरिएको पत्रमा क्विनोनेजले उडान परिचरलाई कुटपिट गरेकोमा माफी मागेकी छिन् । नकारात्मक ध्यानाकर्षणका कारण आफू निराश र अपमानित भएको बेला उक्त घटना भएको उनले उल्लेख गरेकी छन् । उडानका क्रममा परिचारिकाले क्विनोनेजलाई सिट बेल्ट लगाउन, सीटको अघि रहेको ट्रे टेबल बन्द गर्न र उनले लगाएको अनुहारको मास्कलाई उपयुक्त ढङ्गले लगाउन आग्रह गरेकी थिइन् । तर उनले आफ्नो फोन ती परिचारिकको फिल्म बनाउन प्रयोग गरिन् र उनलाई धकेलेर मुक्का प्रहार गरिन् ।

उनले परिचारिकाको कपाल समातेर अनुहारमा धेरै पटक मुक्का हानिन् । यात्रीहरूले क्विनोनेजको लुगा तानेर उनलाई रोक्न खोजे तर सफल भएनन् ।



प्रतिक्रिया दिनुहोस !