राष्ट्रिय साइवर सूचना केन्द्र स्थापना गरिने
काठमाडौं । सरकारले सूचना तथा सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र सुरक्षित बनाउन राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)मा विद्युतीय सूचना प्रणालीको सुरक्षाका लागि सो केन्द्र स्थापना गर्ने उल्लेख गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आज पेस गरेको आगामी आवको बजेटमा दूरसञ्चार सेवालाई गुणस्तर र सर्वसुलभ बनाउने तथा इन्टरनेट सेवाको शुल्क घटाउने उल्लेख छ ।
यसैगरी, सुरक्षण मुद्रण र मुद्रण विभागलाई एकापसमा गाभेर क्षमता अभिवृदि गरिने उनले बताए । सरकारले पत्रकार दुर्घटना बीमा र लोक कल्याणकारी विज्ञापन कार्यक्रमलाई निरन्तरता दिनाका साथै उक्त सेवा अनलाइन सञ्चारमाध्यमलाई समेत प्रदान गर्ने बजेटमार्फत जनाइएको छ ।
बजेटमा रेडियो नेपाल र नेपाल टेलिभिजनको सेवालाई शतप्रतिशत भूभागमा पु-याउने, दोलखाको चलचित्र सिटीलाई सार्वजनिक निजी अवधारणामा अगाडि बढाउनेलगायत व्यवस्थाहरु उल्लेख छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि रु आठ अर्ब ६९ करोड बजेट विनियोजन गरेको छ ।
आगामी आवको बजेटमा कृषि, पर्यटन, उद्योग, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।