महिलाविरुद्ध हुने सबै भेदभाव नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभावपूर्ण व्यवहारलाई नियन्त्रण गर्दै महिलाको समग्र उत्थान र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले महिलाविरूद्ध हुने सबै किसिमका हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्यवस्था गरेको उल्लेख गरेका छन् ।
साथै राज्यका सबै निकायमा महिलाको समानुपातिक समावेशीतालाई सुनिश्चित भएको समेत बताएका छन् । आज जेठ १६ गते महिलाको सम्मान सभ्य समाजको पहिचान’ भन्ने राष्ट्रिय नाराका साथ चौथो राष्ट्रिय महिला अधिकार दिवस देशभर मनाइँदैछ ।
प्रधानमन्त्री देउवाले दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक, अधिकारको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा कार्य गर्नुहुने सम्पूर्ण व्यक्ति तथा सङ्घसंस्थामा शुभकामना व्यक्त गरेका छन् ।
लैङ्गिक समानता, न्याय र महिला विकासका लागि राज्यको तर्फबाट भएका नीतिगत, कानुनी, संरचनागत एवं प्रक्रियागत सुधारको फलस्वरूप अहिले राजनैतिक तथा प्रशासनिक क्षेत्रमा महिलाको प्रतिनिधित्व र सहभागिता उल्लेखनीयरूपमा वृद्धि भएको उनले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री देउवाले नेपालको लैङ्गिक विकास सूचकाङ्कमा भएको सुधारबाट राज्यले महिला हकअधिकारको क्षेत्रमा अवलम्बन गरेका नीति र कार्यक्रमबाट राम्रो प्रतिफल प्राप्तः भएको मान्न सकिने बताए । नेपालको संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावको अन्त्य गर्दै समानुपातिक समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ ।
संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा स्थापित गरी महिलालाई लैङ्गिक भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक पैतृक सम्पत्तिलगायत सबै विषयमा समान हक आदिको प्रत्याभूति गरेको छ ।
महिला सशक्तीकरण हामी सबैको सरोकारको साझा विषय भएकाले यस विषयमा सबैले समन्वयात्मक तवरले पहलकदमी लिन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले विभिन्न कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैङ्गिक, सामाजिक आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न तथा विकासका समग्र पक्षमा महिलालाई मूलप्रवाहीकरण गर्न आवश्यक रहेको उल्लेख गरेका छन्।
सम्पूर्ण महिला दिदीबहिनीहलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी लैङ्गिक समानता र महिला सशक्तीकरणको लक्ष्य हासिल गर्ने सरकारको अभियानमा सबै एकजुट भएर लाग्न सम्पूर्ण देशवासीमा आह्वान गर्दै उहाँले दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।