आइजिपी बढुवाविरुद्धको सुनुवाइ आज
प्रकाशित मिति : 31 May, 2022 10:38 am
काठमाडौं । सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आइजिपी) बढुवाविरुद्धको सुनुवाइ आजदेखि हुने भएको छ। न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गतेको मुद्दाको अन्तिम सुनुवाइ आजबाट हुने आदेश दिएको थियो ।
उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गरिने र सो मिति सार्न नपाइने उल्लेख थियो । सोही आदेशानुसार आजदेखि उक्त विवादमा अन्तिम सुनुवाइ हुन लागेको हो ।
सरकारले आइजिपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि एआइजी विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले तेस्रो वरियताका व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।