१२ मंसिर २०८१, बुधबार

मेलम्चीको मुहानबाट पानी पठाउन बन्द, काठमाडौंमा कार्तिकसम्म मेलम्चीको पानी नआउने

प्रकाशित मिति :  31 May, 2022 1:07 pm


काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा पानी पठाउन बन्द गरेको छ । आयोजनाको सुरुङको सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका बन्द गरेको छ । योसँगै काठमाडौंमा मेलम्चीबाट पानी आउन बन्द भएको छ ।

मेलम्ची खानेपानी आयोजना समितिले यसअघि नै बर्षायाम सुरु भएसँगै टनलेमा पानी पठाउन बन्द गरिने बताएको थियो । बर्षा सक्रिय भएपछि समितिले सुरुङको ढोका बन्द गरेको हो । बाढी आउने गरी मनसुन सक्रिय हुने अवस्था आएलगत्तै आयोजनाबाट पानी ल्याउन रोक्ने समितिको तयारी थियो ।

समितिले जेठ १० गतेतिर नै बन्द गर्न खोजेपनि मौसम विभागले मनसुन भित्रिने एक साता लाग्ने जानकारी दिएका कारण समय सारिएको थियो ।

बाढी आउन थालेपछि बन्द हुने सुरुङ कार्तिकपछि खोल्न सकिने आयोजना जनाएको छ । वर्षायाममा सुरुङ बन्द राखियो भने वर्षमा कम्तिमा कार्तिकदेखि जेठसम्म पानी वितरण गर्न सकिने आयोजनाले बताएको छ ।

गतबर्ष असार १ गते आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजना क्षतिग्रस्त भएको थियो । गतमहिनादेखि सरकारले सिन्धुपाल्चोकस्थित बाँधस्थलमा अस्थायी संरचना तयार गरेर काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण थालेको थियो ।



प्रतिक्रिया दिनुहोस !