४ आश्विन २०८१, शुक्रबार

‘स्वस्थ्य जनशक्तिका लागि स्वच्छ र सन्तुलित खानपान अपरिहार्य’

प्रकाशित मिति :  1 June, 2022 5:51 pm


काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना वैद्य जोशीले विश्व खाद्य स्वच्छता दिवसको नारा तथा खाद्य स्वच्छता सम्वन्धी सूचना सन्देशका चेतनामूलक पर्चा पम्प्लेट प्रकाशन तथा वितरण गरि प्रचार प्रसार गर्ने कुरामा जोड दिएकी छन् ।

विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसन्धान अनुसार तरकारी फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपन्छी खाद्य पदार्थमा एण्टिबायोटिक अवशेष, खाद्यान्नमा ढुसीजन्य विशालुको समस्या रहेको औल्याउदैँ स्वास्थ्य तथा सवल जनशक्ती राष्ट्र निर्माणको महत्वपुर्ण आधार स्तम्भ भएकोले समग्र देश विकासका लागि समेत स्वच्छ र सन्तुलित खानपान अपरिहार्य रहेको जोशीले बताएकी छन् ।

नागरिकको खाद्य सम्वन्धी हकलाई परिपूर्ण बनाउँदै सरकारले “कोहि भोकै पर्दैन, कोहि भोकले मर्दैन” भन्ने नीति तय गरि कार्यान्वयनमा ल्याएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएकाे छ । विभागले खाद्य स्वच्छता दिवसका बारेमा जानकारी दिन बुधवार पत्रकार सम्मेलन गरेकाे छ ।

खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई आम जनमानसमा पुर्याउन विभागले चौध वर्ष अघि देखि शुरु गरेको खाद्य स्वच्छता दिवसको अभियानलाई समर्थन हुने गरी कोडेक्स एलिमेन्टेरियस कमिशन, खाद्य तथा कृषि संगठन र विश्व स्वास्थ्य संगठन को प्रस्तावमा सन् २०१८ डिसेम्बर २० का दिन संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष जुन ७ का दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो । विभागले विगतजस्तै याे वर्ष पनि सप्ताहव्यापी रूपमा दिवस मनाउने भएकाे छ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारीका जोखिम कम गर्न सन्तुलित र स्वच्छ खाद्य पदार्थमा जोड दिएको र खाद्य श्रृंखलाका विभिन्न चरणमा खाद्य पदार्थको स्वच्छता र गुणस्तर कायम राख्न विभिन्न सरोकारवालाहरुको भूमिकालाई महत्व दिई आ–आफ्नो क्षेत्रबाट उपयुक्त रुपमा सम्बोधन गर्न सम्वन्धित सरकारी एवं गैर सरकारी संघसस्थाहरु, अन्तर्राष्ट्रिय विकास साझेदारी संघसस्थाहरु, खाद्य उद्योगहरु, खाद्य तथा पोषणसँग सम्वन्धित संघसस्थाहरु, उपभोक्ता हकहितसँग सम्बन्धित संघसस्थाहरुका साथै जनचेतनाका संवाहक पत्रकारहरु समेतको सहकार्यमा विविध कार्यक्रमहरु सहित सम्पूर्ण सरोकारवालाहरुको सहकार्यका लागि आह्वानका साथ “स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार” भन्ने नारा सहित खाद्य स्वच्छता दिवस मनाउन लागेको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले बताएका छन् ।

खानपानमा स्वच्छता र सन्तुलित नहुँदा धेरै प्रकारका रोगहरु लाएकाले यस वर्षको विश्व खाद्य स्वच्छता दिवस २०२२ को मुल नारा स्वच्छ, सन्तुलित आहार, स्वस्थ्य जीवनको आधार तय गरेको प्रवक्ता महर्जनले बताएका छन् ।

महर्जनले विश्व स्वास्थ्य संगठनको तथ्याङ्क देखाउँदै विश्वमा हरेक वर्षमा अस्वच्छकर एवं दूषित खाद्य पदार्थबाट झाडापखाला देखि क्यान्सरसम्म गरि २०० बढी रोग लाग्ने, प्रत्येक दस जना मध्ये एक जना विषाक्त खाद्य पदार्थको उपभोगका कारण विरामी हुने, ४ लाख २० हजार खाद्य जनित रोगबाट मृत्यु हुने तथा झाडापखालाबाट करिव ५५ करोड विरामी र २ लाख ३० हजारको मृत्यु हुने गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !