इम्बोस्ड नम्बरका नाममा नागरिकमाथि धम्कीको भाषा खारेज गर्न सांसद थापाको माग
काठमाडौं । नेपाली कांग्रेसका सांसदसमेत रहेका महामन्त्री गगन थापाले इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयमा पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्।
साउन १ भित्र सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गरिने सूचना यातायात मन्त्रालयले निकालेको थियो । मन्त्रालयले समस्या समाधान नगरी जनतालाई धम्कीको भाषा दिएको भन्दै सांसद थापाले आपत्ति जनाएका छन्।
१५ महिनामा २५ लाख सवारीमा इम्बोस्ड नम्बर जडान गर्न दुई तीन वटा कार्यलयबाट सम्भव नरहेको पनि थापाले बताए । ‘साउन १ भित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे देखाइदिन्छु भनेर जुन किसिमले धम्की दिएको छ, धम्कीको भाषा गलत छ खारेज गर्नुपर्छ। तत्काल पुनरावलोकन होस्,’ उनले भने, यसलाई सस्तो गरियोस् ‘पूर्वाधार तयार गरियोस्, नागरिकलाई सास्ती नहोस्।
बंगलादेश र अमेरिकाको कम्पनीले इम्बोस्ड नम्बर प्लेट जडानको ठेक्का लिएको थियो। ठेक्का पाएको कम्पनी र ठेक्का सम्झौतामाथि पनि प्रश्न उठेको थापाले बताए।
यातायात विभागले गण्डकी र बागमतीको यातायात कार्यालयमा दर्ता सवारी साधनले साउन १ भित्र इम्बोस्ड नम्बर नलिए कारबाहीकाे चेतावनी दिएको थियो।