१० मंसिर २०८१, सोमबार

गुरुयोजनाका आधारमा लुम्बिनी र राप्‍ती प्रादेशिक अस्पतालको निर्माण प्रक्रिया अघि बढ्ने

प्रकाशित मिति :  8 June, 2022 6:52 pm


रूपन्देही । लुम्बिनी प्रदेश सरकारले गुरुयोजनाका आधारमा लुम्बिनी प्रादेशिक अस्पताल र राप्‍ती प्रादेशिक अस्पतालको भौतिक पूर्वाधार निर्माण प्रक्रिया अघि बढाउने भएको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम २०७९/८० मा लुम्बिनी प्रादेशिक अस्पताललाई मुलुककै नमूना अस्पताल र प्रादेशिक मेडिकल कलेजको रुपमा विकास गरी सञ्चालनमा ल्याइने उल्लेख छ ।

मुलुकका विशिष्टीकृत अस्पतालहरूसँग समन्वय र सहकार्य गरी लुम्बिनी तथा राप्‍ती प्रादेशिक अस्पतालमा क्यान्सर र मुटु रोगको प्रभावकारी उपचारको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको मौलिक हकको कार्यान्वयन गर्न लुम्बिनी तथा राप्ती प्रादेशिक अस्पतालहरूमा ओपिडी र जनरल बेड सेवा निःशुल्क गरिने भनिएको छ ।

प्रदेश राजधानीमा रहेको लालमटिया स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी सुविधा सम्पन्न पचास शय्याको अस्पतालको रुपमा विकास गरिने भएको छ ।

न्यूनतम सेवा मापदण्डको प्रगतिको आधारमा अस्पतालहरूको सेवा सुदृढीकरण गरिने र विशेषज्ञ चिकित्सक परिचालन कार्यविधिमार्फत प्रदेशका दुर्गम जिल्लाहरूमा विशेषज्ञ सेवा सञ्‍चालन गरिनेछ।संघीय सरकारसँगको समन्वयमा स्थानीय तहका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा चिकित्सक परिचालन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

संघीय सरकारसँगको समन्वयमा स्वास्थ्य बीमा कार्यक्रमलाई सहज र सरल बनाइनेछ बहुक्षेत्रीय पोषण कार्यक्रमलाई अन्तरनिकाय समन्वय गरी प्रभावकारी रुपमा कार्यान्वयन गरिने भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !