४ आश्विन २०८१, शुक्रबार

विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले घट्यो

प्रकाशित मिति :  10 June, 2022 4:18 pm


आर्थिक वर्ष २०७८/७९ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.३४ महिनाको वस्तु आयात र ६.५७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौं । विदेशी विनिमय सञ्चिती १८ प्रतिशतले कमी आएको छ । गत वर्ष असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा विदेशी मुद्रा १८ प्रतिशतले कमी आएको नेपाल राष्ट्र बैंकले जनाएकाे छ।

राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेकाे चालु आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैँया कुल विदेशी विनिमय सञ्चिति रहेकोमा २०७९ वैशाख मसान्तसम्म ११ खर्ब ४६ अर्ब ८८ करोड सञ्चिति रहेको छ । त्यसैगरी, अमेरिकी डलरको सञ्चिति २०७८ असार मसान्तमा २१.१ प्रतिशतले कमी आइ ९ अर्ब २८ करोड रुपैँया रहेको छ ।

कुल विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा गत असार मसान्तको तुलनामा १८.३ प्रतिशतले कमी आएको छ । गत असार मसान्तमा १२ खर्ब ४४ अर्ब ३३ करोड सञ्चिति रहेकोमा वैशाख मसान्तमा १० खर्ब १७ अर्ब २७ करोड रुपैँया रहेको राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १५४ अर्ब ३९ करोड रुपैँया रहेकोमा २०७९ वैशाख मसान्तमा १६.१ प्रतिशतले कमी आई १२९ अर्ब ६१ करोड रुपैँया रहेको छ । २०७९ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.३४ महिनाको वस्तु आयात र ६.५७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

२०७९ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २३.६ प्रतिशत, ५४.८ प्रतिशत र २१.४ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.७ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।



प्रतिक्रिया दिनुहोस !