२ कार्तिक २०८१, शुक्रबार

खाद्यान्न लगायत अत्यावश्यक वस्तुका पसल बन्द नगर्न सरकारको आग्रह

प्रकाशित मिति :  25 March, 2020 7:39 am


काठमाण्डौं, १२ चैत । सरकारले अत्यावश्यक वस्तुहरुको कारोबार गर्ने पसलहरु बन्द नगर्न आग्रह गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्य, सुरक्षा लगायतका आवश्यक वस्तुहरुको कारोबार गर्ने पसल तथा सेवा बन्द नगर्न आग्रह गरेको छ ।

लक डाउनका बेला कोहीपनि घरबाहिर ननिस्कन आग्रह गर्दा खाद्यान्न, औषधि लगायत अत्यावश्यकीय वस्तुका पसल समेत बन्द भएपछि सरकारले यस्तो आग्रह गरेको हो । गृहमन्त्रालयको विज्ञप्तिमा भनिएको छ,‘स्वास्थ्य,सुरक्षा,खाद्यवस्तु,खानेपानी,दुध,विद्युत,दुरसञ्चार,सूचना तथा सञ्चार, भन्सार,फोहोर मैला व्यवस्थापन लगायतका आवश्यक वस्तुहरुको कारोबार गर्ने पसलहरु बन्द नहुने हुँदा सदाझै निर्वाध रुपमा सञ्चालन गरिदिनुहुन सम्बन्धित सबैलाई अनुरोध गरिन्छ ।’

उद्योगि व्यवसायीका संघसंगठनले समेत सम्पूर्ण व्यवसाय बन्द गर्ने भनेपछि अत्यावश्यकीय पसलहरु समेत बन्द भएपछि असहज बनेको छ । तर, सरकारले तोकिएका सेवा बन्द नगर्न आग्रह गरेको छ । लक डाउनको पहिलो दिन आवश्यक बस्तु र सेवा सञ्चालन गर्ने निकायहरु फाट्टफुट्ट बन्द भएको उल्लेख गर्दै बुधबारदेखि त्यस्ता वस्तुहरुको कारोबार गर्ने पसलहरु निर्वाधरुपमा सञ्चालन गर्न सरकारले अनुरोध गरेको हो ।

यस्तै मन्त्रालयले कुनै जरुरी काम नपरिकन पनि सवारी पास माग गर्ने प्रवृत्ति बढेको गुनासो समेत गरेको छ । मन्त्रालयले सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयन गर्न सहयोग गरेकामा सबै नेपाली नागरिकलाई धन्यवाद दिएको छ । मंगलबार बिहान ६ बजेदेखि लागू भएका लकडाउनको घोषणा आगामी चैत १८ गते बिहान ६ बजेसम्म कायम रहनेछ । यस्तै मन्त्रालयले देशका केही स्थानमा कुनै अत्यावश्यक काम नपरी हिँडडूल गर्ने नागरिकलाई सम्झाउने, बुझाउने, जरिवाना गरी छाड्ने र विना पासका सवारीसाधनलाई नियन्त्रणमा लिइ साँझ फिर्ता दिने लगायतका कार्य भएको पनि जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !