५ आश्विन २०८१, शनिबार

आलु तथा मकैमा ‘सेमिलोफर’ किराको समस्या

प्रकाशित मिति :  12 June, 2022 9:20 am


चरीकोट। दोलखाका विभिन्न क्षेत्रहरूमा आलु तथा मकैमा सेमिलोफर नामक किराको समस्या देखापरेको छ । जिल्लाको अधिकांश स्थानमा सेमिलोफर किराको समस्या देखापरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

शैलुङ गाउँपालिकामा सबैभन्दा किराले क्षति पु-याएको छ । किराले आलु र मकैका पातलाई खादा बोट मर्न थालेपछि किसानहरू चिन्तित बनेका छन् ।

किराले खाएर बोट नै मरेपछि किसानले गाउँपालिका तथा नगरपालिकाको कृषि शाखामा रोग नियन्त्रणका लागि पटक–पटक गुनासो राख्दै आएका छन् ।

ज्ञान केन्द्रका शाखा प्रमुख नन्दराज वलीले अहिले किसानलाई प्राविधिक परामर्श र विषादी सहयोग गरेकोे जानकारी दिए । उनले किरा नियन्त्रणका लागि गोडमेल गर्नुपर्ने, झार उखेलेर गाड्नुपर्ने, गोडमेलमा ध्यान पु-याउनुपर्ने र इमानेटिक बेन्जोयट नामक विषादी प्रयोग गर्नुपर्ने बताए।

जिल्लाको उच्च क्षेत्रहरूमा मुख्य पेशाका रूपमा आलुखेती गर्दै आइरहेका छन् । बजार सहजै पाउने र हिमाली क्षेत्रको आलु राजधानी काठमाडौँलगायतका सहरमा धेरै मात्रामा माग भएका कारण किसानले मुख्य खेतीका रूपमा आलु लगाउँदै आएका छन् । जिल्लामा गत वर्ष समेत आलु, मकैलगायत खेतीमा फौजी किराले समेत क्षति पु-याएको थियो ।
––– रासस



प्रतिक्रिया दिनुहोस !