३ कार्तिक २०८१, शनिबार

कैलालीको गौरीफन्टा नाकामा अलपत्र परेका झण्डै एक हजार नेपालीको उद्धार, २१ वटा बस मार्फत जिल्ला पठाईयो

प्रकाशित मिति :  25 March, 2020 10:12 am


कैलाली, १२ चैत । कैलालीको गौरीफन्टा नाकामा एक दिन एक रात अलपत्र परेका झण्डै एक हजार नेपालीको उद्धार गरी घर पठाईएको छ । २१ जिल्लाकालाई उद्धार गरि सम्बन्धित जिल्लामा पठाईएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

उद्धार गरिएका मध्ये सबैभन्दा बढि कैलालीका दुई सय ९१ जना छन्। त्यस्तै डोटीका २ सय १४ जना, बैतडीका ८७, बझाङका ६८, अछामका ६६, डडेल्धुराका ६५, कञ्चनपुरका ५१ र दार्चुलाका ३४ जनालाई बसमार्फत जिल्लामा पठाईएको छ । उनीहरुलाई स्थानीय तहसम्मै पुग्ने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

त्यस्तै सुर्खेतका ४२, पाल्पाका ३८, कालिकोटका १२, दाङका ८, प्युठान र बाग्लुङका ३/३, कपिलवस्तुका २, बर्दिया, बाँके, जनकपुर, चितवन, रुकुम, रुपन्देहीका १/१ जनाको उद्धार गरी पठाईएको छ।

सिमा नाकामा अलपत्र परेपछि संघीय सरकारले अन्तिम अवसर भन्दै सिमानामा रोकिएका नेपालीलाई घर जाने व्यवस्था गरेको थियो । अलपत्र परेकालाई सुदूरपीश्चम सरकार र स्थानीय प्रशासनले यातायात व्यवसायीसँग समन्वय गर्दै २१ वटा बसमार्फत उनीहरुलाई गन्तव्य पठाईएको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आज सम्म दशगजा क्षेत्रमा रहेका नेपालीहरुको विवरण तयार पारी गन्तव्य पठाईएको बताए। उनका अनुसार प्रदेश सरकारको सहयोगमा प्रत्येक स्थानीय तहले क्वारेन्टाईनमा राख्ने समेत निर्णय भएको छ।



प्रतिक्रिया दिनुहोस !