नेप्से परिसूचक १९ सयको हाराहारीमा झर्यो
काठमाडौं । साताको कारोबारको दोस्रो दिन पनि सेयरबजार भारी अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ३६.०७ अंकले घटेर १९९६.२७ अंकमा झरेको छ भने सेन्सेटिभ परिसूचक पनि ६.४८ अंकले घटेर ३८३.५१ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएको १३ ओटै उपसमुहको सेयर घटेको छ ।मंगलबार कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४ करोड ६७ लाख १८ हजार १ सय ९३ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै नाफा कमाएका छन् । संस्थाको सेयरमूल्य ८.१८ प्रतिशतले बढेको छ ।
त्यस्तै आज हिमालयन पावर पार्टनर कम्पनी लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ ।
कूल २३२ वटा कम्पनीको ४१ लाख ४७ हजार २ सय ५५ कित्ता सेयर किनबेच हुँदा एक अर्ब १८ करोड ५५ लाख ४६ हजार एक सय ७९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।