‘२ पैसा बचाएर सेयरमा लगानी गरेका अहिले मर्ने अवस्थामा’
काठमाडौं । सेयर बजारको पछिल्लो अवस्थाबारे नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संसदका कुरा उठाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले २ पैसा बचाएर सेयरमा लगानी गरेका अहिले मर्ने अवस्था पुगेको बताए ।
“विश्वव्यापी रूपमा सेयर बजारलाई अर्थतन्त्रको परिसूचकको रूपमा हेर्ने गरेको पाइन्छ ।” थापाले भने “भदौ २ गते ३१९८ को उच्चतम विन्दुमा पुगेको नेप्से परिसूचक हिजो १९९५ विन्दुमा झरेको छ । यस्तो परिघटनाले सेयर बजारको विश्वसनीयतामा नकारात्मक प्रभाव पर्ने नै हो। तर योसँगै धेरै साना लगानीकर्ता उठ्न नसक्नेगरी प्रभावित भएका छन्।”
थापाले सेयरबजारलाई ठिकठाउँमा ल्याउनै पर्छ बताउँदै समयमै जोखिमको बारेमा जानकारी दिन नसक्दा अहिले घरघरमा विल्लिबाठ परिरहेको छ, यसको जिम्मेवार कही न कही हामी भनेर जानकारी गराए ।
उनले दिनहुँ जसो आफूसँग १०–१५ जना लगानीकर्ता गुनासो गर्दै सम्पर्कमा आउने गरेका बताएका छन् । आफूसँग सम्पर्कमा आएकामध्ये धेरैले झुन्डिएर आत्महत्या गर्ने तथा सडकमा आइपुगेको गुनासो गर्ने गरेका उनी बतााउँछन् ।
सामान्य अवस्थामा सेयर बजार तलमाथि हुनु नियमित प्रकृया भएपनि कुनै अस्थिर नीतिका कारणले गर्दा बजारको ह्रासले अहिलेको विद्यमान र सम्भावित सबै लगानीलाई बजारबाट निरूत्साहित गरेको थापाले बताए ।
थापाले बजारमा रहेको तरलता अभावले सेयर बजारमा समस्या ल्याउनु स्वभाविक रहेपनि राष्ट्र बैंकले लिएको सेयर बजार कर्जालाई संकुचन गर्ने नीतिका कारण बजार यस्तो अवस्थामा आएको भनिएको बारेमा ध्यानार्कषण हुनु जरुरी रहेको बताए
सेयर बजारको स्थायित्व कायम गर्न र सेयर बजारमाथि विश्वास कायम गर्न अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड जस्ता नियमनकारी निकायहरूले के कस्तो कार्य गरिरहेका छन् हेर्नुपर्ने बताए ।
निजी क्षेत्रको रियल सेक्टर र अन्तराष्ट्रिय लगानीकर्ताहरूलाई समेत धितोपत्रमा लेराएर अर्थतन्त्रलाई फराकिलो बनाउनु पर्नेमा संकुचित बनाइएको थापाको भनाई छ । साथै उनले धितोपत्र बजारको नीति दिगो र अर्थतन्त्रलाई सबलीकरण गर्ने खालको हुनुपर्ने बताए ।