गण्डकी प्रदेश बजेट : स्थानीय तहलाई ७२ करोड, फलामखानीलाई १५ करोड रुपैयाँ विनियोजन
काठमाडौं । गण्डकी प्रदेश सरकारले फलाम खानी सञ्चालन गर्न १५ करोड र स्थानीय तहलाई ७२ करोड रुपैयाँ विनियोजन गरेको छ । बुधबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै प्रदेश अर्थमन्त्री रामजी प्रसाद बरालले फलामखानी सञ्चालनको लागि बजेट विनियोजन गरेको बताए ।
नवलपुरको धौवादीमा रहेको फलाम खानी सञ्चालन गर्न १५ करोड रुपैयाँ विनियोजन गरेको छ । हुप्सेकोट गाउँपालिकामा रहेको धौवादी डाँडामा देशकै सबैभन्दा ठुलो फलामखानी भएको विश्वास गरिएको अर्थमन्त्री बरालले बताए ।
त्यस्तै अर्थमन्त्री बरालले सवारी साधन करमार्फत आउने ७२ करोड रुपैयाँ स्थानीय तहमा पठाउने घोषणा गरेका छन् ।
संघीयतामा अधिकार बाँडफाँट अन्तर्गत संघीय सरकारले सवारी कर उठाउने अधिकार प्रदेश सरकारलाई दिएको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि उत्पादन अन्तर्गत मकैको बिउ उत्पादनका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ भने प्रदेशलाई स्याउमा आत्मनिर्भर गराउन १७ करोड विनियोजन गरेको अर्थमन्त्री बरालले बताए ।