३ आश्विन २०८१, बिहिबार

जनप्रतिनिधिको सुविधा कटौती गरी आइसोलेशन कक्ष स्थापना

प्रकाशित मिति :  25 March, 2020 3:13 pm


कञ्चनपुर, १२ चैत । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जनप्रतिनिधिको सुविधामा खर्च हुने रकम कटौती गरी दुई ठाउँमा पाँच/पाँच शय्याका आइसोलेसन कक्ष स्थापना गरेको छ ।

नगरपालिका–१० स्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको भवन र वडा नं ४ को राष्ट्रिय माध्यमिक विद्यालयमा आइसोलेशन कक्ष निर्माण गरेको हो । आइसोलेशन कक्षका लागि आवश्यक सामग्री खरिदका लागि जनप्रतिनिधिको सेवा सुविधाबाट कटौती हुने गरी रु २० लाख बजेट परिचालन गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताए। ‘आज साँझसम्म आवश्यक सामग्री खरिद गरी आइसोलेशन कक्षमा राखिसक्छौँ’, उनले भने, ‘कक्षका लागि स्वास्थ्यकर्मीको दुई टोली तयारी अवस्थामा राखिएको छ ।’ आइसोलेशन कक्षको व्यवस्थापनका लागि कार्यान्वयन टोलीसमेत छुट्टै गठन गरिएको नगर प्रमुख ऐरले जानकारी दिए ।

भारतमा कोरोना भाइरसको महामारी फैलिएपछि होटेल, बजार, उद्योग बन्द भएसँगै त्यसमा कार्यरत नेपालीहरु धमाधम घर फर्किन थालेकाले जोखिमलाई मध्यनजर गर्दै आइसोलेशन कक्ष तयार गरिएको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !