रोल्पामा सुरक्षित गर्भपतनको चेतना बढ्दो
उमा केसी–
रोल्पा । मुलसरी रोकामगर रोल्पा थवाङकी सामुदायिक अगुवा हुन् ।
सामुदायिक अगुवाहुनु अघि उनमा प्रजनन स्वास्थ्यवारे धेरै भ्रमहरू थिए । यस विषयमा खुलेर बोल्न लजाउने गर्थिन् । सुरक्षित गर्भपतनको विषय उनका लागि ‘लाजको पसारो’ थियो ।
प्रजनन स्वास्थ्यवारे समुदायका दिदीबहिनीहरूसँग कुराकानी गर्ने जिम्मेवारी सहित उनी सामुदायिक अगुवा छानिएपछि तालिमको अवसर जुर्यो । तालिमपछि उनमा रहेको भ्रम हट्दै गयो । आफैमा परिवर्तन आएपछि उनले विस्तारै दिदीबहिनीहरूसँग प्रजनन स्वास्थ्यबारे कुराकानी गर्दै गईन् ।
यौन तथा प्रजनन स्वास्थ्य, सुरक्षित गर्भपतनको कानून र अधिकारबारे आमा समूह,टोल समूहगत तथा क्लबमा आवद्ध दिदीबहिनीहरूलाई सचेत गराउने तथा यसबारे सरकारले दिने सेवाबारे जानकारी गराउने उनको काम थियो ।
“सुरु सुरुमा दिदीबहिनीहरू अलि अलि निस्कृय हुनुहुन्थ्यो, मेरो कुरा खासै चासो दिनु हुदैनथ्यो” विगत सम्झदै मुलसरीले भनिन्,“मेरो निरन्तर लगावले उहाँहरूको मन जितेछ क्या रे कुरा ध्यानपूर्वक सुन्न थाल्नु भयो ।”
बैठकहरूमा उपस्थिति हुने छलफलमा सक्रिय सहभागि हुन थालेसंगै उहाँहरूमा प्रजनन स्वास्थ्यबारे चेतना बढेको मुलसरीको अनुभव छ । “दिदीबहिनीमा यसरी परिवर्तन आयो त भन्दिन तर अधिकांशमा परिवर्तन आएको छ”मुलसरीले भनिन् ।
सामुदायिक अगुवा भएर काम गर्नु अघि प्रायःमहिलाहरूले असुरक्षित गर्भपतन गराउने गरेको उनको भनाई छ । सम्बन्ध राख्दा नै अस्थायी साधन प्रयोग गर्ने सल्लाह दिने उनको भनाई छ । “गर्भपतन गराउनै परे नजिकको सुचिकृत स्वास्थ्य संस्थामा गएर गर्भपतन गराउन सल्लाह दिने गरेका छौं,”मुलसरीले भनिन् ।
नेपाल सरकारले मुलसरीको गाउँमै रहेको थवाङ स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवाउपलव्ध गराएको छ । त्यहाँबाट आर्थिक वर्ष २०७६÷०७७ मा २० वर्ष मुनीमा ४ र २० वर्ष माथिका २६ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । सोही स्वास्थ्य चौकीवाट आर्थिक वर्ष२०७७/०७८ मा २० वर्ष मुनीका ११ र २० वर्ष माथिका ४१ गरि ५२ जनाले यो सेवालिएका थिए । चालू आर्थिक वर्षको माघ मसान्त सम्ममा २० वर्ष मुनीका ४ र २० वर्ष माथिका १४ गरि १८ जनाले यो सेवालिएको देखिएको छ । उनीहरू मध्ये सबैले औषधीखाएर गर्भपतन गराएका हुन् ।
मनिषा घर्तीमगर माडी २ घर्तीगाउँकी सामुदायिक अगुवा हुन् । उनले महिला दिदीबहिनीसँग यौन तथा प्रजनन स्वास्थ्यबारे कुरा गर्छिन् । आफूले जानेका कुरा निर्धक्क भन्ने उनको बानीका कारण दिदी बहिनीहरू पनि मनिषासंग खुल्न लजाउदैनन् ।
“सामुदायिक अगुवाहरू जतिखुल्न सक्यो त्यसको प्रभाव दिदीबहिनीमा पनि पर्ने रहेछ” मनिषाले अनुभव सुनाईन् । “आफू खुले मात्रै दिदीबहिनीहरू खुल्न सहजहुने रहेछ,” मनिषाले भनिन् । आमा समूहको वैठकमा मनिषाले यौन तथाप्रजनन स्वास्थ्यबारे कुरा गर्छिन् त्यस्तो समस्या परेका दिदीबहिनीलाई नजिकको स्वास्थ्य संस्थामा जान सुझाव दिने मात्र हैन हिंसामा परेकालाई न्यायदिन सम्बन्धित निकायको ढोका ढक्ढक्याछिन् ।
उनले आमा समूहको वैठकमा गर्भनिरोधका साधनहरू प्रयोग गर्न सल्लाह दिन्छिन् । गर्भपतन गराउनै पर्ने भए यसको सेवा निशुल्क रहेको दिदी बहिनीहरूलाई जानकारी दिने उनले सुचिकृत स्वास्थ्य संस्था भन्दा बाहिर गर्भपतन गराउदा हुने नोक्सानीबारे पनि सचेत गराउदै आएकी छन् ।
मनिषाले काम गर्ने माडी गाउँपालिकामा पनि सरकारले सुरक्षित गर्भपतनका लागि स्वास्थ्य संस्था सुचिकृत गरेको छ । जहाँ महिलाको मञ्जुरीले १२ हप्ता सम्मको सुरक्षित गर्भपतन हुन्छ । त्यहाँऔषधी खाएर गर्भपतन गराउनेहरूको संख्या पनि बढ्दै जान थालेको छ । “विगतमा लुकेर असुरक्षित ढंगले गर्भपतन गराउँदा जटिल समस्या समेत भोगेको मैले आफै देखेको छु मनिषाले भनिन । अहिले भने यस्तो समस्या निकै कम भएको छ,” उनले भनिन् ।
माडी गाउँपालिकामा आर्थिक वर्ष २०७६÷०७७मा सुचिकृत स्वास्थ्य संस्थागएर सुरक्षित गर्भपतन गराउनेको संख्या ३९ थियो । जसमा २० वर्ष मुनिका ३ र २० वर्ष माथिका ३६ जनाले यो सेवा लिएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा यो सेवा लिनेको संख्या ३५ रहेको थियो । जसमा १ जना २० वर्ष मुनीका र ३४ जना २० वर्ष माथिका थिए । चालू आर्थिक वर्षको माघ मसान्त सम्म यो संख्या १७ पुगेको छ । जसमा २० वर्ष मुनिका २ र २० वर्ष मुनीका १५ रहेका छन् ।
झरना पुन रुन्टीगढी–४ उवाकी सामाजिक अगुवा हुन् । थवाङकी मुलसरी र माडीकी मनिषा जस्तै झरनाले पनि रुन्टीगढी गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्यवारे कुराकानी गर्ने गरि तालिम लिएकी छन् । रुन्टीगढी गाउँपालिका रोल्पाको दक्षिण भेगमा पर्छ दाङसंग सिमाना जोडिएको हँुदा यहाँ प्रजनन स्वास्थ्यबारे जनचेतनाको स्तर अलिमाथि रहेको जस्तो लाग्थ्यो, उनलाई । जब दिदिबहिनीहरूसंग यस विषयमा कुराकानी गर्न थालिन अनि बल्ल उनलाई थाहा भयो यस विषयमा महिला दिदीवहिनीहरूको बुझाई ।
“शुरु सुरुमा त कुरा गर्दा पनि रिसाउथे” विगत सम्झदै झरनाले भनिन्,“कुरा सुन्न नमान्ने, जलाउने समस्या थियो उनले भनिन् ।” अहिले यो अवस्थामा धेरै परिवर्तन आएको उनको वुझाई छ । “अहिले त मेरो घरमै आएर सोध्नुहुन्छ,” झरनाले भनिन् । आमा समूहको वैठकहरूमा पनि यो विषयले प्रवेश पाउने गरेको छ झरनाले भनिन् ।
यायातायातको सुविधा, स्वास्थ्य संस्थाको पहुँच तथा शैक्षिक जागरणमा समेत रुन्टीगढी अलि अगाडी रहदा उनलाई पछिल्ला दिनमाकाम गर्न त्यति सकस छैन । वितेका २ वर्ष र चालू आर्थिक वर्षको माघ मसान्तसम्म यहाँका उल्लेख्य दिदीबहिनीहरूले सुरक्षित गर्भपतन सेवालिएका छन् ।
आर्थिक वर्ष २०७६/७७मा २० वर्ष मुनिका २३ र २० वर्ष माथिका १३८ गरि १६१ जनाले यो सेवालिएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा २० वर्ष मुनीका ९ र २० वर्ष माथिका १२९ गरि कुल १३८ जनाले यो सेवा लिएको तथ्यांक देखिन्छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म २० वर्ष मुनीका ६ र २० वर्ष माथिका ६३ गरि ६९ जना सम्म यो सेवापुगेको देखिन्छ ।
सुरक्षित गर्भपतन वारे कुरै सुन्न नचाहाने रोल्पाका ग्रामीण वस्तीमा यस विषयमा आएको परिवर्तनका उदाहारण हुन् यी । लुकेर असुरक्षित गर्भपतन गराउदा वर्षेनी धेरै दिदीबहिनीहरूको अकालै काल हुने गरेको रोल्पामा पछिल्ला दिनमा यो समस्या टर्दै जान थालेको छ ।
रोल्पामा प्रजनन स्वास्थ्य सेवा वस्ती वस्तीमा प्रचार प्रसार गर्न, सचेतिकरण गर्न तथा स्वास्थ्य संस्थाको पहुँचसम्म त्यस्ता महिलाहरूलाई पुर्याउन ८ जना सामुदायिक अगुवाहरू कृयाशिल छन् ।
जिल्लाको रुन्टीगढी,थवाङ,माडी र लुंग्री गाउँपालिकामा यस्ता सामुदायिक अगुवाहरू रहेको पास नेपाल रोल्पाका कार्यक्रम संयोजक ममता खत्रीले जानकारी दिईन् ।
“समुदायले छनौट गरि पठाएका उनीहरूलाई पास नेपालले आधारभूत तहको तालिमा दिने गरेको छ,” खत्रीले भनिन्।