१२ मंसिर २०८१, बुधबार

यस्तो छ काठमाडौं महानगरपालिकाको स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम

प्रकाशित मिति :  19 June, 2022 6:18 pm


काठमाडौं । काठमाडौं महानगर पालिकाले स्वास्थ्य सेवाको गुणस्तर र पहुँच अभिवृद्धि गर्न महानगर जनस्वास्थ्य ऐन जारी गर्ने भएको छ ।

महानगरपालिका प्रमुख बालेन्द्र शाहले निती तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरबासीहरुको स्वास्थ्य सेवा प्रबर्धन गर्न सहरी स्वास्थ्य क्लिनिकहरुलाई स्तरोन्नती गरी सहरी स्वास्थ्य केन्द्रमा रुपान्तरण गरिने बताए । उनले शहरी स्वास्थ्य केन्द्र मार्फत महानगरबासीको नियमित स्वास्थ्य जाँचको व्यवस्था मिलाइने बताए ।

महानगरपालिकामा कर तिरेका करदाताहरुको स्वास्थ्य बिमा गर्न आवश्यक प्रवन्ध मिलाइने र बिमा शुल्कको बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइने नीति तथा कार्यक्रममामा उल्लेख छ ।

नागरिक आरोग्यता प्रबर्धन गर्न उपयुक्त आहार, बिहार, ध्यान, योग, प्राणायाम आदिबारे सचेतना कार्यक्रमहरु मार्फत महानगरबासीलाई निरोगी बन्न प्रोत्साहित गरिने भनिएको छ । त्यस्तै क्यालोरीमा आधारित उपभोग प्रणाली लागू गर्न अग्रणी सेवा प्रदायक संस्थाहरु होटल, रेस्टुरेन्ट, भोजनालय र चमेनागृहलाई त्यस्तो कार्यमा प्राविधिक सहयोग उपलब्ध गराइने निती तथा कार्यक्रममा उल्लेख छ ।

काठमाडौँ उपत्यका भित्र रहेका सरकारी तथा निजी अस्पतालहरुसंग समन्वय तथा सहकार्य गरी विशेषज्ञ चिकित्सक सेवामा सर्बसाधारण नागरिकको पहुँच वृद्धि गर्न आवश्यक व्यवस्था मिलाइने महानगरको नीति तथा कार्यक्रम उल्लेख छ ।

महानगरपालिका क्षेत्रभित्र स्थयी बसोबास गर्ने विपन्न नागरिकहरुको लागि अस्पतालमा निस्शुल्क बेडको प्रबन्ध मिलाइने, काठमाडौँ महानगरपालिका भित्र एकीकृत एम्बुलेन्स सेवा संचालनको ब्यवस्था मिलाइने,महानगर क्षेत्रभित्र रहेका सबै प्रकारका स्वास्थ्य संस्थाहरुको अभिलेख ब्यवस्थित गरिने उल्लेख छ ।

एक विद्यालय एक नर्स र स्कुल सोसियल वर्कर कार्यक्रमलाई आवश्यकता अनुसार विस्तार गर्दै लगिने र आयुर्वेद उपचार पद्धतिलाई प्रवर्धन गरी जनस्वास्थ्य सेवा अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !