सेयर बजारमा पहिरो : कारोबार खुलेको डेढ घण्टामै ५१ अंकले घट्यो नेप्से
प्रकाशित मिति : 20 June, 2022 12:46 pm
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा भारी गिरावट आएको छ । कारोबार सुरु भएको आधा घण्टामा ३४ अंकले घटेर १९ सय अंकभन्दा तल झरेको नेप्से परिसूचक अहिले यो समाचार तयार पार्दासम्म ५१ अंकले घटेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये अहिलेसम्म सबै उपसमुहको सेयरमूल्य घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार खुलेको डेढ घण्टामा नेप्से परिसूचक ५१ अंकले घटेर १८८२.२१ अंकमा पुगेको छ ।
त्यस्तै अहिलेसम्म नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड ७५ लाख ५७ हजार ८ सय ९१ रुपैयाँको कारोबार भएको छ ।
अहिलेसम्म आँधिखोला वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।
नेप्सेमा अहिलेसम्म कुल २२० कम्पनीको २१ लाख ४१ हजार २ सय ५४ कित्ता किनबेच हुँदा ६८ करोड २२ लाख १५ हजार ५ सय ५१ रुपैयाँको कारोबार भएको छ ।