१५ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८४ ‘छ’ जारी गर्दै राष्ट्रबैंक
काठमाडौं । नेपाल राष्ट्रबैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८४ ‘छ’ जारी गर्ने भएको छ । राष्ट्रबैंकले नेपाल सरकारको तर्फबाट ५ वर्षे अवधीको विकास ऋणपत्र जारी गर्न लागेको हो ।
राष्ट्रबैंकले असार ८ गते जारी गर्ने भनेको उक्त ऋणपत्रको बोलकबोल भने भोली आसार ७ गते नै हुने भएको छ ।
यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्।
यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र २०८४ असार ८ गते परिपक्व हुनेछ।
यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ।
बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन्। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात १२.७५ अर्ब र २.२५ अर्ब रुपैयाँ छुट्याइएको छ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा ऋणपत्रको रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।