राष्ट्र बैंकलााई दोष लगाएर पन्छिन खोज्दै धितोपत्र बोर्डका अध्यक्ष हमाल
काठमाडौं । विगत १० महिनादेखि सेयरबजार घट्नुको दोष अहिले राष्ट्र बैंकको थाप्लोमा खन्याएका छन् । सेयरबजारको नियामकिय निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले समेत राष्ट बैंककै नीतिका कारणले बजार प्रभावित बनाएको बताएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गरेर हमालले सेयर बजार घट्नुको मुख्य कारण गत वर्ष मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लगाएको ४/१२ को सीमा नै रहेको जिकिर गरे ।
हमालले भने “हामीले विज्ञसँग पनि बुझेका छौं उहाँहरुले पनि सेयर बजार घट्नुको मुख्य कारण राष्ट्र बैंकको ४ १२ को नीति भएको बताउनु भयो । राष्ट्र बैंकको ४/१२ को नीति परिमार्जनको विषयमा अर्थमन्त्रालय मार्फत राष्ट्र बैंकसँग कुरा भइराखेको छ ।”
मंगलबार बिहान अर्थमनत्री जनार्दन शर्मा र धितोपत्र बोर्डका अध्यक्ष हमालबीच भेट वार्ता भएको थियो । बिहान अर्थमनत्रीसँग भेट गरेसँग साँझ हमालले राष्ट्र बैंकको नीतिलाई सेयर बजार घट्नुको मुख्य कारण भएको बताएका थिए । अर्थमन्त्रीसँगको भेट लगत्तै बोर्डमै पत्रकार सम्मेलन गरेका हमालले राष्ट्र बैंकलाई दोष दिएर पन्छिन खोजेको देखिन्छ ।
बजारको यस्तो अवस्थामा हुनुमा बोर्ड जिम्मेवार रहेको पूर्वगर्भनर तथा धितोपत्र बोर्डका पूर्व अध्यक्ष चिरञ्जीवी नेपाल बताउँछन् ।
नेपाल भन्छन् “केन्द्रीय बैंकले आफ्ना बैंक तथा वित्तीय क्षेत्रहरु मजबुत बनाउन नीति नियमहरु ल्याउने गर्दछ, यस्ता नीति नियम ल्याउँदा कहिले सेयर बजारलाई राम्रो हुन्छ कहिले नराम्रो हुन्छ,” उनले भने, “नियामकको नाताले लगानीकर्ता सुरक्षित हुनको लागि ४÷१२ बाहेक अर्को के हुन सक्छ भनेर केन्द्रीय बैंकलाई भन्न सक्नु प¥यो ।”
नेपालका अनुसार बजार सुधारको लागि धितोपत्र बोर्ड नै केही नीति कुराहरु लिएर आउनु पर्छ । राष्ट बैंकलाइ दोष दिनु भन्दा पनि बोर्डले तत्काल गर्नुपर्ने विषयमा अलि गम्भिर भए लाग्नुपर्दछ ।
पूँजी बजार सुधारको माग गर्दै पूर्व पत्रकार तथा लगानीकर्ता तिलक कोइराला ८ दिनदेखि अनसन बसिराखेका छन् । विभिन्न माग राख्दै धितोपत्र बोर्डको अगाडी अनसन बसेका कोइरालाको स्वस्थ्य स्थिती खराब हुँदै गएपछि पाटन अस्पताल लगिएको छ । कोइराला अनसन बसेको दिन बोर्डका अध्यक्ष रमेश हमाल बिदामा भन्दै अमेरिका भ्रमणमा गएका थिए ।
अमेरिका भ्रमणबाट सोमबार फर्किएसँगै उनले सोही दिन कोइरालासँग भेट गरेका थिए । सोमबार कोइरालासँग भेट गरेर हमाल मंगलबार बोर्डमा पत्रकार सम्मेलन राखेर पूँजी बजार सुधार समितिले राखेको माग बोर्डले पहिलेनै सुरु गरेको बताएका हुन् । बोर्डले लगानीकर्ताले राखेको माग पहिलेदेखि पुरा गर्न लागिराखेको भएर के कारणले अनसन बस्नु भएको भन्ने थाहा नभएको बताएका छन् ।
सरकारले बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदर र मुद्रास्फिती ७ प्रतिशतमा राख्ने लक्ष्य राखेकोले मौद्रिक नीति पहिलाकोभन्दा कडा ल्याउनुपर्ने पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले बताएका छन् । “बजेटको आकार आयात कम गर्ने सरकारको नीति र विदेशी मुद्राको सञ्चितीको आधारमा मौद्रिक नीति कडा बनाउनुपर्छ,” उनले भने ।
राष्ट्र बैंकले समष्टिगत आर्थिक स्थायित्व, मुद्रास्फीति नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखेर सरकारको वित्त नीतिलाई सहयोग हुने गरी मौद्रिक नीति तर्जुमा गर्दै आएको छ । राष्ट बैंकले विशुद्ध बैंक तथा वित्तिय प्रणालीको अवस्था हेरेर मौद्रिक नीति ल्याउने हुँदा बोर्डले गलत आश्वस देखाएको सेयरबजारका जानकारहरु बताउँछन् ।