सेयरबजारमा निरन्तर गिरावट : ३१ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । निरन्तर घटेको सेयरबजार मंगलबार दोहोरो अंकले बढेको थियो भने आज पुनः ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३१.२१ अंकले घटेर १८९३.५३ अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.९४ अंकले घटेर ३६९.१५ अंकमा झरेको छ ।
नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ ।
बुधबार नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ३ करोड ३९ लाख ६६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्लोबल आइएमई सम्मुनत योजना १ र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यस दिन युनाइटेड इदी मर्दीको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ६.४८ प्रतिशतले घटेको छ ।
कूल २२९ वटा कम्पनीको ३० लाख ३४ हजार ४ सय ८३ कित्ता सेयर किनबेच हुँदा ८४ करोड ३७ लाख ७३ हजार ४ सय ५९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।