२७ फाल्गुन २०८१, मंगलबार

नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

प्रकाशित मिति :  22 June, 2022 7:04 pm


काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ । पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारका क्रममा आज अपराह्न निधन भएको नेमकिपाका नेता सरोजराज गोसाईले जानकारी दिए।

विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिनुभएकी शोभा प्रधानको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग २०४० साल मङ्सिर ११ गते विवाह भएको थियो । उनका दुई पुत्र रहेको गोसाईले जानकारी दिए ।

लामो समयदेखि शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएर उपचारपछि निको भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत थिइन् । उनको अन्तिम संस्कार भने विदेशका रहेका पुत्र नेपाल आइपुगेपछि गरिने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस !