आदर्श लघुवित्तको आईपीओ बाँडफाँट
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यालयमा शेयर बाँडफाँट भएको हो।
लघुवित्तले असार १ गतेदेखि ५ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको शेयरमा १६ लाख ७२ हजार ७९४ आवेदकको आवेदन स्वीकृत भएको थियो । आवेदनमध्ये ६ हजार २६१ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । सोमध्ये पनि ५ भाग्यमानी लगानीकर्ताहरुले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।
लघुवित्तले असार १ गतेदेखि ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। जसमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। बाँकी रहेकाे ६२ हजार ६१५ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो।
हाल लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ।