३ आश्विन २०८१, बिहिबार

इन्डक्सन चुल्होमा खाना पकाउनेलाई विद्युत महसूल २० प्रतिशत छुट

प्रकाशित मिति :  26 March, 2020 11:12 am


काठमाण्डौं, १३ चैत । सरकारले इन्डक्सन चुल्होमा खाना पकाउनेलाई २० प्रतिशत छुट दिने भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले इन्डक्सनमा खाना पकाउनेलाई २० प्रतिशत छुट दिने निर्णय गरेको छ । मन्त्रालयले इन्डक्सन प्रयोगमा प्रोत्साहन बढाउनका लागि २० प्रतिशत छुट दिन विद्युत प्राधिकरणलाई निर्देशन दिएको हो ।

ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई इन्डक्सनबाट खाना पकाउने ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई १ सय ५० युनिटसम्म छुट दिन मन्त्री पुनको निर्देशन छ ।

इन्डक्सनमा छुट दिँदा ग्यासको विस्थापनमा सहयोग पुग्ने मन्त्री पुनको विश्वास छ । ‘ग्यास बाहिरबाट आयात गर्नुपर्छ । विद्युत हाम्रो आफ्नै उत्पादन हो’, मन्त्री पुनले भने,‘यसो गर्दा ग्यास किन्न बाहिरिने पैसा देशभित्रै बस्छ, व्यापार घाटा पनि कम हुन्छ ।’

महसुल छुट नदिँदा पनि ग्यासभन्दा इन्डक्सन सस्तो पर्ने भन्दै मन्त्री पुनले अब छुटपछि त झन् सस्तो पर्न आउँने बताए । मन्त्री पुनले ग्यासमा भन्दा सस्तो पर्ने भएको उपभोक्तालाई इन्डक्सनमा खाना पकाउन आग्रहसमेत गरे ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले इन्डक्सन चुल्हो प्रयोगको प्रोत्साहन गर्न विद्युत महसुल र भन्सार महसुल छुट दिने गरि व्यवस्था मिलाउने हिजो निर्णय गरेको थियो । निर्णय लगत्तै उर्जामन्त्रालय कार्यान्वयनमा गएको हो ।



प्रतिक्रिया दिनुहोस !