बिहिबारसम्म काठमाडौं उपत्यकाको फोहर ढुवानी नहुने
काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर ढुवानी आज र भोलि रोकिने भएको छ । मंगलबार र बुधबार बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट जाने बाटो मर्मत गर्न लागेकोले फोहोर ढुवानी रोकिने महानगरपालिकाले जनाएको छ ।
सिसडोलदेखि दुई किलोमिटर पर बञ्चरेडाँडासम्म जान यसअघि थुपारिएको फोहरको डङ्गुर पार गर्नुपर्ने बाध्यता छ । वर्षाको समय सुरु भएसँगै फोहर कुहिन थालेको छ ।
कुहिएको फोहर माथिबाट आवतजावत गर्दा दुर्घटना हुने खतरा भएकाले कामपा वातावरण विभागले उपत्यकाबाट फोहर लाने काम बन्द नै गरेर उक्त स्थानमा सफा गर्न लागेको जनाएको छ ।
कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार केही दिनदेखि नियमित परेको वर्षाका कारण समस्या आएको छ । निरन्तर परेको पानीले काठमाडौंदेखि अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रूपमा सबै फोहरका गाडी जान सकेका छैनन् ।
बञ्चरेडाँडामा प्रत्येक दिन ३ सय ट्रक फोहोर खसाल्न सुरु भएता पनि वर्षाले गर्दा बाटो बिग्रँदा १ सय ट्रक फोहोर भन्दा धेरै ल्यान्डफिल्ड साइट लैजान नसक्ने स्थिति रहेको छ ।
फोहोर संकलनमा भने खासै समस्या नभएको महानगरको भनाइ छ । बिहीबारदेखि महानगरको फोहोर नियमित रुपमा फेरि बञ्चरेडाँडा जाने महानगरले जनाएको छ ।