५ आश्विन २०८१, शनिबार

आज १९औँ राष्ट्रिय धान दिवस तथा राेपाइँ महाेत्सव, देशभर मनाइँदै

प्रकाशित मिति :  29 June, 2022 6:50 am


काठमाडौं । आज असार १५ । देशभर विभिन्न कार्यक्रम गर्दै धानखेतमा १९औँ राष्ट्रिय धान दिवस तथा राेपाइँ महाेत्सव मनाइदैछ । मुलुककै प्रमुख बाली धान राेपाइँकाे मध्य सयमकाे माैका पारेर वर्षाैंदेखि दही चिउरा खाएर नेपाली किसानले मनाइरहेकाे असार १५ सरकारले पनि राष्ट्रिय दिवसकाे रूपमा १९ वर्षदेखि मनाउदै आएकाे छ।

आजकाे दिन सरकारी तथा गैरसरकारी तवरबाट पनि विभिन्न कार्यक्रम गरेर मनाउने चलन छ । याे वर्ष धान दिवसकाे मूल कार्यक्रम बुधबार बिहान ललितपुरकाे खुमलटारस्थित धानबाली अनुसन्धान केन्द्रकाे परिसरमा औपचारिक कार्यक्रम गर्दै नजिककाे खेतमा राेपाइँ गरेर मनाउन थालिएकाे छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीकाे प्रमुख आतिथ्यतामा दिउसाे १२ बजे अखिल नेपाल किसान महासंघकाे आयाेजनामा भक्तपुरकाे सिरू टारमा धान दिवस मनाइने भएकाे छ । डेरी उद्याेग संघले पनि दिउसाे २ बजेदेखि ५ बजेसम्म काठमाडाैंकाे संखमुलमा फुड फेस्टिवल मनाइदै छ ।

असार १५ को लागि भक्तपुरमा जुजु धौ बनाउँदै व्यवसायीहरु । तस्वीर ः लक्ष्मी गारु, रासस

‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ खुमलटारको अलवा देशका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै धान दिवस मनाउने कार्यक्रम रहेको कृषि विभागले जनाएको छ ।

धान दिवसलाई रोपाइँ दिवस पनि भनिन्छ । असार १५ गते नेपालमा दही चिउरा खाने चलनसमेत चलिआएको छ । चिउरा धान कुटेर तयार पारिने खाद्यान्न हो । नेपालीको प्रमुख खाद्यन्न बाली धानको गरिमा र महत्व अर्थतन्त्रसँग जोडिएको छ । विश्व खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महत्वपूर्ण अन्न बाली हो ।

नेपाली लोक परम्परा अनुसार असार १५ मा रोपाईं महोत्सव गरी दही चिउरा खाने प्रचलनले दहीको माग उच्च हुने गर्छ । भक्तपुरमा जुजु धौ व्यवसायी करिव एक सयको हाराहारीमा छन् । औसतमा दैनिक १३ हजार लिटर दूधको जुजु धौ उत्पादन गर्दै आइरहेका व्यवसायीहरु असार १५ को अवसरमा माग अनुसार २० हजार लिटर दूधको जुजु धौ उत्पादन गर्छ । यहाँ उत्पादन गरिएको जुजु धौ उपत्यकाका शहरहरु, काभ्रे जिल्लालगायत जाडोमा छिमेकी मुलुकहरुमा समेत निर्यात गर्ने व्यवसायीहरु बताउँछन् ।

विश्वका झन्डै चार अर्ब जनसङ्ख्याको आधारभूत खाद्यान्न चामल हो । धानको नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा महत्व छ । नेपालमा १३० जातका धानका बीउ सिफारिस भइसकेका छन् ।

नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ । जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ । नेपालमा कूल खेतीयोग्य जमिन करिब ३१ लाख हेक्टर रहेको छ ।

नेपालमा असार १५ गते दहीच्युरा खाने संस्कृति प्राचीनकालदेखि नै रहिआएको छ।



प्रतिक्रिया दिनुहोस !