माओवादी केन्द्रमा पदाधिकारी टुंग्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी टुंग्याउन प्रस्ताव गर्ने भएका छन् । मंगलबार दाहाल निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बिस्तारित बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीलाई पूर्णता र कमिटी गठनका लागि नेताहरुको नाम प्रस्ताव गर्ने तयारी गरेकाे स्रोतले बताएको छ ।
पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो समिति लगायतका पार्टीका संरचना बनाउनेबारे छलफल गर्न मंगलबार बिहान बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले जारी केन्द्रीय समिति बैठकबाटै यी विषय टुंगो लगाउनुपर्ने धारणा राखेका थिए ।
आइतवार सुरु भएको केन्द्रीय कमिटीको बैठकमा सोमवार प्रचण्डको राजनीतिक प्रस्तावमाथि छलफल भएको थियो। मंगलवारको बैठक सुरु हुनु केही समय अघि मात्रै स्थगित भएको थियो। केन्द्रीय सदस्यले पदाधिकारी टुंगो लगाउन प्रचण्डलाई दबाब दिदै आएका छन्।
बुधवार बस्ने बैठकमा पदाधिकारी चयनका लागि प्रचण्डले नाम प्रस्ताव गर्ने तय भएको प्रचण्डका प्रेस संयोजक रमेश मल्लले बताए ।
पदाधिकारी,स्थायी कमिटी र पोलिटब्यूरो लगायत ९ एजेण्डामा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा छलफल भइरहेको छ।
केन्द्रीय कार्यालयको विस्तारित बैठकमा छलफल लम्बिएपछि केन्द्रीय समितिको जारी बैठक भोलि दिउँसो १ बजेसम्मलाई स्थगन गरिएको छ ।