नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीचको मर्जरलाई राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ।
राष्ट्र बैंकले हिजो (असार २२ गते) पत्र पठाउँदै दुवै बैंकबीचको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको जनाउँदै अन्तिम स्वीकृतिका लागि दुवै बैंकले राष्ट्र बैंकसमक्ष संयुक्त निवेदन पेस गर्नुपर्ने बताएको छ ।
उक्त निवेदनका साथ दुवै बैंकले ऋण लिएको भए ऋण दिने ऋणदाताको मर्जर कार्यका लागि दिएको लिखित सहमतिपत्रको प्रतिलिपि र गाभ्ने संस्थामा गाभिने संस्थाका कर्मचारीको पद मिलान तथा सेवासुविधा भएको निर्णयको प्रतिलिपिसमेत पेस गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
इन्भेस्टमेन्ट र मेगाबीच गत जेठ २७ गते मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो। समझदारीअनुसार इन्भेस्टमेन्ट र मेगा बैंकबीच १००ः९० को सेयर स्वाप अनुपातमा मर्जर जाने सम्झौता भएको छ।
मर्जरपछि बैंकको नाम नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’ राख्ने सहमति बनेको छ ।